धनुषामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन, प्रहरी महानिरीक्षक कार्कीद्वारा वृक्षारोपण

समाचार

जनकपुरधाम,९ साउन  । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले शनिबार जिल्ला प्रहरी कार्यालय धनुषाको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र तथा प्रहरी आवास भवनको उद्घाटन गर्नुभएको छ। उद्घाटनपछि उहाँले भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण पनि गर्नुभयो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले नवनिर्मित सेवा केन्द्रले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकप्रतिको राज्यको दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढंगले पूरा गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले आगामी दिनमा केन्द्रबाट सेवाग्राहीले सहज, सुरक्षित र सम्मानजनक पहुँचसहित पीडितमैत्री, पीडित–केन्द्रित, व्यावसायिक तथा प्रविधिमैत्री सेवा प्राप्त गर्ने अपेक्षा व्यक्त गर्दै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरू समाजका संवेदनशील र जोखिममा रहेका वर्ग भएकाले उनीहरूमाथि हुने अपराध न्यूनीकरण तथा न्यायमा पहुँच सुनिश्चित गर्नु सबै सरोकारवाला निकायको साझा दायित्व भएको बताउनुभयो।

प्रहरी महानिरीक्षक कार्कीले भवन निर्माणमा सहयोग पुर्‍याएको UNOPS को भूमिकाको प्रशंसा गर्दै नवनिर्मित संरचनाले प्रहरी र सेवाग्राहीबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा भवन निर्माणमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थाका प्रतिनिधिलाई प्रशंसापत्रसमेत प्रदान गरिएको थियो।

कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ओम प्रसाद अधिकारीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभयो भने UNOPS का अपरेसन कोअर्डिनेटर तथा अवकाशप्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो। त्यसैगरी UNOPS का वरिष्ठ इन्जिनियर शिशिर उपाध्यायले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
UNOPS को सहयोगमा रु. ३ करोड ९९ लाख ७६ हजार ५ सय ३ रुपैयाँ १६ पैसा लागतमा सेवा केन्द्र र प्रहरी आवास भवन निर्माण सम्पन्न भएको हो।

उद्घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, संघ–संस्थाका पदाधिकारी, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *