सडक सुरक्षा र दुर्घटना न्यूनीकरणमा जोड : पर्सा ट्राफिकद्वारा तीनपाङ्ग्रे यातायात व्यवसायीसँग अन्तरक्रिया

समाचार

पर्सा, साउन १९। सडक सुरक्षा अभिवृद्धि, सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले तीनपाङ्ग्रे (अटो/ई–रिक्सा) यातायात व्यवसायीहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठको उपस्थितिमा आयोजित कार्यक्रममा तीनपाङ्ग्रे यातायात व्यवसायी तथा सरोकारवालासँग सडक अनुशासन, सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना, यात्रुको सुरक्षालगायतका विषयमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा प्रहरी निरीक्षक श्रेष्ठले ट्राफिक नियमको पूर्ण पालना, क्षमता भन्दा बढी यात्रु नबोक्ने, मादक पदार्थ सेवन गरी सवारी नचलाउने, निर्धारित गति र लेन अनुशासन कायम राख्ने तथा यात्रुलाई सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभयो।

अन्तरक्रियामा सहभागी व्यवसायीहरूले दैनिक सञ्चालनका क्रममा भोगिरहेका समस्या, चुनौती तथा ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन आवश्यक सुझाव प्रस्तुत गरेका थिए। प्रस्तुत सुझावहरूलाई समन्वयात्मक रूपमा कार्यान्वयन गर्दै सुरक्षित, व्यवस्थित र दुर्घटनारहित सडक वातावरण निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिँदै सडक सुरक्षाप्रति जनचेतना अभिवृद्धि गर्ने जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *