वीरगञ्ज,१४ भदौ । पर्साको वीरगञ्ज महानगरपालिका–१६ माईधिया पोखरी अगाडिबाट १०० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी विशेष टोलीले २०८३ भदौ १४ गते दिउँसो करिब १२:१० बजे माईधिया पोखरी अगाडिको सडकखण्डमा पैदल हिँडिरहेका तीन जना शंकास्पद व्यक्तिलाई रोकी चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा उनीहरूको साथबाट १०० ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ फेला परेपछि प्रहरीले उक्त पदार्थ बरामद गरी तीनै जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्य, पूर्णिया जिल्ला, सदर थाना हाजिरगञ्ज–४५ का १९ वर्षीय कृष्णा कुजुर, पूर्णिया सदर थाना रामबाग डाईबर टोल–३० का १९ वर्षीय आदित्य राज तिगा र हाजिरगञ्ज–४५ कै १८ वर्षीय आशिष कुँजुर रहेका छन्।
बरामद पदार्थसहित उनीहरूलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।
प्रहरीले वीरगञ्ज तथा सीमावर्ती क्षेत्रमा लागूऔषधको अवैध कारोबार नियन्त्रणका लागि निगरानी तथा कारबाहीलाई थप तीव्र बनाएको जनाएको छ।
