इ–रिक्सा चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर बारामा एक जनाको मृत्यु

समाचार

बारा, भदौ १६ । बाराको विश्रामपुर गाउँपालिका–२ कान्तिपुर टोलमा इ–रिक्सा चार्जबाट निकाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

मंगलबार बिहान करिब ४ बजे आफ्नै घरअगाडि चार्जमा राखिएको मधेश प्रदेश ०३–०२ ह २३६८ नम्बरको इ–रिक्सा चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा करिब ४५ वर्षीय शर्मा पटेल घाइते भएका थिए।

करेन्ट लागेर घाइते भएका पटेललाई उपचारका लागि एलएस न्यूरो अस्पताल, बारामा लगिएको थियो। अस्पतालमा चिकित्सकले ECG लगायत स्वास्थ्य परीक्षण गर्दा बिहान करिब ६ः०४ बजे उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय छतवाबाट प्रहरी नायब निरीक्षक प्रमोद कुमार साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीका अनुसार शवको मुचुल्का तयार गरी बिहान ८ः२० बजे पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। पोस्टमार्टमपछि बिहान ९ः३० बजे मृतकका भाइ अमोद पटेलले शव बुझेर लगेका छन्।
घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *