परवानीपुरमा EV गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु

समाचार

बारा, भदौ १६ । बाराको परवानीपुर गाउँपालिका–४ स्थित केडिया आँखा अस्पताल अगाडि EV गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्यु भएको छ।

बिरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०९०१ नम्बरको EV गाडीले सडक पार गर्ने क्रममा भारतको मोतिहारी जिल्ला निवासी महम्मद गुफानका ७ वर्षीय छोरा महम्मद ईशानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

मंगलवार दिउँसो करिब १२ः३० बजे भएको दुर्घटनामा टाउकोमा गम्भीर चोट लागेका ईशानलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो।

तर, उपचारकै क्रममा दिउँसो २ः०८ बजे चिकित्सकले ECG परीक्षणपछि ईशानलाई मृत घोषणा गरेका थिए।
घटनापछि इलाका प्रहरी कार्यालय परवानीपुर, बाराबाट प्रहरी नायब निरीक्षक बालराज गिरीको कमाण्डमा खटिएको टोलीले EV गाडी र चालकलाई नियन्त्रणमा लिएको छ। प्रहरीले चालक पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी करिब २६ वर्षीय लक्षुमन पासवानलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार मृतक बालकको शव अस्पतालमै राखिएको थियो। पछि दिउँसो ५ः१५ बजे शव मुचुल्का सम्पन्न गरी पोस्टमार्टमका लागि नारायणी अस्पताल, पर्सा पठाइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *