मुसहर्वाका ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

समाचार

बारा, भदौ १६ । बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वाका ११ वर्षीय बालकको अपहरणपछि भारतमा लगेर हत्या गरेको आरोपमा प्रहरीले एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

विश्रामपुर गाउँपालिका–३ मुसहर्वा निवासी ११ वर्षीय राजेश कुमार साह भदौ ९ गते बिहान करिब ९ बजे घरबाट हराएका थिए। बालक हराएको जानकारी सोही दिन साँझ करिब ७:५० बजे प्रहरी चौकी मुसहर्वामा प्राप्त भएपछि प्रहरीले तत्काल खोजतलास सुरु गरेको थियो।

खोजीका क्रममा भदौ ११ गते बिहान करिब १०:३० बजे भारतको बिहारस्थित मोतिहारी जिल्ला, नुनियाडी पञ्चायत–१ मा रहेको सिंहा नदी किनारमा बालक मृत अवस्थामा फेला परेका थिए।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले संकलन गरेको सीसीटीभी फुटेज, स्थानीयवासीको भनाइ तथा भारतीय प्रहरीसँगको समन्वयबाट बालकलाई विश्रामपुरबाट अपहरण गरी भारतको उक्त स्थानमा लगेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा विश्रामपुर गाउँपालिका–३ मुसहर्वाकै १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ। नाबालक भएकाले प्रहरीले उनको नाम परिवर्तित नाम जिल्ला ३३ (A) ०८३/८४ राखेको जनाएको छ।

प्रहरीले पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मिनबहादुर घलेले घटनाबारे जानकारी दिँदै अनुसन्धान जारी रहेको बताए।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *