सलमान र शाहरुखको झगडा मिलाउने बाबा सिद्दिकीको गोली हानी हत्या ।!

समाचार

काठमाडौँ ,२७ असोज । महाराष्ट्रका नेता बाबा सिद्दिकीको शनिबार राति अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । गोली लागेपछि बाबा सिद्दिकीलाई हतार हतार लीलावती अस्पतालमा भर्ना गरिएको थियो । तर, चिकित्सकले उनको ज्यान बचाउन सकेनन् ।

मुम्बईको राजनीतिदेखि बलिउडसम्म बाबा सिद्दिकीको प्रभाव थियो । शाहरुख खान र सलमान खानलाई उनीहरुको सुपरस्टारडमका लागि तुलना गरिन्छ । यी दुई कलाकारबीच आज राम्रो मित्रता छ तर कुनै समय एकअर्कासँग हाई प्रोफाइल विवादमा फसेको थियो । बाबा सिद्दिकीका कारण यी दुईबीचको दरार अन्त्य भएको थियो । सिद्दीकी यस्तो नेता थिए जसको इफ्तार पार्टीमा ठूला स्टारहरु सहभागी हुने गरेका थिए ।

सन् २००८ मा कट्रिना कैफको बर्थडे पार्टीमा दुई स्टारबीच ठूलो झगडा भएको बताइएको छ । यो झगडापछि दुवै स्टारले एकअर्कासँग बोल्न छोडे । कुनै पनि कार्यक्रममा भेटघाट पनि रोकियो ।

दुई सुपरस्टारबीचको यो झगडा केही वर्षपछि अन्त्य भयो । यसको पूरा श्रेय बाबा सिद्दिकीलाई दिइन्छ । ईदको अवसरमा बाबा सिद्दिकीको इफ्तार पार्टीमा बलिउडका चर्चित कलाकारहरुको जमघट हुने गरेको छ । सन् २०१३ मा सिद्दिकीको इफ्तार पार्टीमा सलमान र शाहरुखबीचको दूरी समाप्त भएको थियो । यो इफ्तार पार्टीमा दुवैले आफ्नो मतभेद बिर्सेर एकअर्कालाई अँगालो हालेका थिए ।

बाबा सिद्दीकी कांग्रेसबाट तीन पटक विधायक र एक पटक महाराष्ट्र सरकारमा मन्त्री थिए। उनले कांग्रेसको विद्यार्थीसंगठनमार्फत विद्यार्थी राजनीति सुरु गरेका थिए । उनले लोकसभा चुनावअघि महाराष्ट्र कांग्रेसबाट राजीनामा दिएका थिए । त्यसपछि उनी अजित पवार नेतृत्वको एनसीपीमा प्रवेश गरेका थिए ।

सिद्दिकीको हत्या किन र कसले गर्यो भन्ने अहिलेसम्म स्पष्ट हुन नसकेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।  मिडिया रिपोर्टका अनुसार सिद्दिकीको हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ ।

 

महाराष्ट्रका चर्चित नेता बाबा सिद्दिकी:-

भारतको महाराष्ट्रका अजित पवार नेतृत्वको राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ ।

शनिबार राति मुम्बईको बान्द्रा पूर्वमा उनीमाथि कैयौं राउण्ड गोली चलाइएको थियो । त्यसपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । यस घटनाको केही समयपछि महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले पत्रकार सम्मेलनमा बाबा सिद्दिकीको मृत्यु भएको पुष्टि गरेका थिए ।

मुख्यमन्त्री शिन्देले यस घटनामा दुई जनालाई पक्राउ गरिएको र एकजना फरार रहेको बताए । पक्राउ पर्नेमा एकजना हरियाणा र एक उत्तर प्रदेशका रहेका छन् ।

झण्डै ४८ वर्षदेखि कांग्रेसमा रहेका बाबा सिद्दिकी यसै वर्ष फेब्रुअरीमा एनसीपी (अजित पवार गुट) मा प्रवेश गरेका थिए । बाबा सिद्दिकीले १६–१७ वर्षको उमेरदेखिनै कांग्रेसमा काम गर्न थालेका थिए । १९९२ र १९९७ मा, बाबा सिद्दीकी कांग्रेसको टिकटमा मुम्बई सिविक बडीको लागि निर्वाचित भएका थिए । बाबा सिद्दीकी सन् १९९९ मा बान्द्रा (पश्चिम)बाट विधायक निर्वाचित भएका थिए । सन् २००४ र २००९ मा पनि बाबा सिद्दीकीले कांग्रेसको टिकटमा सोही सिटबाट चुनाव जितेका थिए ।

बाबा सिद्दीकी सन् २००४ देखि २००८ सम्म महाराष्ट्रको विलासराव देशमुख सरकारमा खाद्य आपूर्ति मन्त्री बनेका थिए ।

२०१७ मा, ईडीले मनी लान्ड्रिंग केसमा बान्द्रामा बाबा सिद्दिकीसँग जोडिएको परिसरमा छापा मारेको थियो । त्यसपछि उनी राजनीतिक रूपमा धेरै सक्रिय भएनन् र उनका छोरा जीशान बढी सक्रिय थिए । २०१४ मा बाबा सिद्दीकी बान्द्रा पूर्वबाट भाजपाबाट हारे तर २०१९ मा उनका छोरा जीशान सिद्दीकी विजयी भए ।

उनी बान्द्रा पश्चिमबाट १५ वर्षसम्म विधायक थिए । यस क्षेत्रमा धेरै बलिउड सेलिब्रेटीहरू बस्छन् । हरेक वर्ष रमजानको महिनामा बाबा सिद्दिकीको इफ्तार पार्टीको चर्चा हुने गरेको छ । उनको इफ्तार पार्टीमा राजनीतिज्ञ बाहेक शाहरुख खान, आमिर खान, सलमान खानदेखि सञ्जय दत्तसम्मका बलिउड सेलिब्रेटीहरू पनि उपस्थित हुने गरेका थिए । शाहरुख खान र सलमान खानको बीचमा वर्षौंसम्म चलिरहेको दरारलाई अन्त्य गर्न बाबा सिद्दिकीले महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । बाबा सिद्दीकी कांग्रेसका वरिष्ठ नेता तथा चर्चित अभिनेता सुनील दत्तको पनि नजिक थिए ।
 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *