बारा ,८ असोज । बाराको जितपुरसिमरा उपमहानगरपालिका–८ गोबरगावाबाट प्रहरीले १ किलो ७३० ग्राम लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोबरगावा निवासी दुखा चौधरीका छोरा अन्दाजी ३६ वर्षीय जयनारायण चौधरी रहेका छन्।
प्रहरीका अनुसार चौधरीले आफ्नै घरको आँगनमा लागूऔषध गाँजा लुकाएर राखेको भन्ने विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) उमेश निरौलाको कमाण्डमा चार जनाको प्रहरी टोली परिचालन गरिएको थियो।
प्रहरी टोलीले घरमा पुगेर जाँच गर्ने क्रममा १५ पुडिया गरी ३२० ग्राम तथा कालो प्लास्टिकमा राखिएको १ किलो ४१० ग्राम गरी प्लास्टिकसहित जम्मा १ किलो ७३० ग्राम गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको हो।
बरामद पदार्थसहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जितपुर, बारामा ल्याइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
