भारी वर्षाको जोखिमबीच सडकका खाल्डाखुल्डी पुर्दै गण्डक ट्राफिक प्रहरी

समाचार

वीरगञ्ज, ९ असोज । सम्भावित भारी वर्षाका कारण डुबान, जलमग्नता तथा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको मातहतमा रहेको गण्डक ट्राफिक प्रहरीले सडकका खाल्डाखुल्डी पुर्ने अभियान थालेको छ।

मिति २०८३/०६/०९ गते गण्डक क्षेत्रमा ट्राफिक प्रहरीले सडकमा रहेका खाल्डाखुल्डी पुर्दै सडकलाई थप सुरक्षित बनाउने प्रयास गरेको हो। भारी वर्षाका बेला सडकमा पानी जम्दा खाल्डाखुल्डी नदेखिने तथा सवारी साधन अनियन्त्रित भई दुर्घटनाको जोखिम बढ्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले प्रहरीले यस्तो पहल गरेको जनाएको छ।

सरकारले पछिल्लो समय सम्भावित भारी वर्षाका कारण डुबान, जलमग्नता तथा अन्य विपद्को जोखिम हुन सक्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको छ। जोखिमयुक्त तथा डुबान हुन सक्ने क्षेत्रबाट टाढा रहन र अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत अनुरोध गरिएको छ।

यस्तै, सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई आफ्नो घरपरिवार तथा आसपासको अवस्थाप्रति सचेत रहन, जोखिम पहिचान गरी आवश्यक पूर्वतयारी गर्न आग्रह गरिएको छ।

गण्डक ट्राफिक प्रहरीको सडक सुधारसम्बन्धी यो पहलले वर्षाका कारण सडकमा उत्पन्न हुन सक्ने जोखिम कम गर्नुका साथै सवारी आवागमनलाई थप सुरक्षित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *