हिमपहिरोमा बेपत्ता १२ मध्ये थप २ जनाको शव भेटियो, मृतकको संख्या ४ पुग्यो

समाचार

मनाङ ,१२ असोज । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ बेस क्याम्पमा हिमपहिरोमा परी सम्पर्कविहीन भएका १२ जनामध्ये थप दुई जनाको शव फेला परेको छ। यससँगै हिमपहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।

प्रहरीका अनुसार २०८३ असोज १२ गते बिहान करिब ११ बजे कैलाश हेलिकप्टरमार्फत हिम्लुङ बेस क्याम्पबाट थप दुई जनाको शव उद्धार गरी प्रदेश अस्पताल चामे, मनाङमा ल्याइएको हो। उद्धार गरिएका दुवै शवको नामथर र ठेगाना भने खुल्न सकेको छैन।

यसअघि उद्धार गरिएका दुई जनाको शव भने कैलाश हेलिकप्टरमार्फत बिहान ८ः१५ बजे काठमाडौंस्थित टिचिङ अस्पताल पठाइएको छ। उनीहरूमा संखुवासभाको भोटखोला गाउँपालिका–३ का करिब ५२ वर्षीय छेबि भोटे र भोटखोला गाउँपालिका–२ का करिब ३१ वर्षीय पासाङ भोटे रहेका छन्।

२०८३ भदौ ३० गते विभिन्न ट्रेकिङ एजेन्सीमार्फत हिम्लुङ बेस क्याम्प स्थापनाका लागि २२ जना नेपाली नागरिक त्यहाँ पुगेका थिए। तीमध्ये असोज ११ गते साँझ ५ः३० बजे १० जना सकुशल फु गाउँमा आइपुगेका थिए। बाँकी १२ जना भने हिमपहिरोपछि सम्पर्कविहीन भएका थिए।

हिम्लुङ बेस क्याम्प जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब तीन दिन उत्तरतर्फ पर्ने दुर्गम क्षेत्रमा रहेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीनमध्ये चार जनाको शव फेला परिसकेको भए पनि बाँकी व्यक्तिहरूको अवस्था अझै अज्ञात छ। बाँकी सम्पर्कविहीनको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *