वीरगञ्ज,१४ असोज । जिल्ला प्रहरी कार्यालय, पर्सा र प्रभु हस्पिटलको संयुक्त आयोजनामा वीरगञ्जमा स्त्रीरोगसम्बन्धी स्वास्थ्य परीक्षण, उपचार तथा परामर्श सेवा कार्यक्रम सम्पन्न भएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बुधबार बिहान ७ः३० बजे वीरगञ्ज महानगरपालिका–८ स्थित जिल्ला प्रहरी कार्यालय, पर्साको परिसरमा रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवनमा कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले गरेका थिए। प्रभु हस्पिटलकी स्त्रीरोग विशेषज्ञ डा. लक्ष्मी थापाले सहभागी महिलाहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक उपचार र स्वास्थ्यसम्बन्धी परामर्श प्रदान गरेकी थिइन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तथा मातहतका इकाइमा कार्यरत महिला प्रहरी कर्मचारी, प्रहरी हिरासतमा रहेका महिला थुनुवा, प्रहरी कर्मचारीका श्रीमती तथा सर्वसाधारण महिलालाई लक्षित गरी स्त्रीरोगसम्बन्धी स्वास्थ्य सेवा प्रदान गरिएको प्रहरीले जनाएको छ।
स्वास्थ्य परीक्षणका क्रममा २३ जना महिलाको सहभागिता रहेको थियो। सहभागीहरूको स्वास्थ्य परीक्षणपछि स्वास्थ्य अवस्थाअनुसार आवश्यक उपचार तथा परामर्शसमेत प्रदान गरिएको थियो।
महिलाहरूमा देखिने स्त्रीरोगसम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचार तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ।
