महोत्तरी,१५ असोज । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले मधेश प्रदेशमा सीमा सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन गर्नुभएको छ।
मिति २०८३ असोज १५ गते आईजीपी पौडेलले मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरी लगायत मधेश प्रदेशअन्तर्गत विभिन्न जिल्लाका सीमा नाकाहरूको अनुगमन गर्नुभएको सशस्त्र प्रहरी बल, नेपालले जनाएको छ।
अनुगमनका क्रममा उहाँले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले गर्दै आएको सुरक्षा व्यवस्थापन, सीमा निगरानी तथा नाकामा परिचालनको अवस्थाबारे स्थलगत जानकारी लिनुभएको थियो।
मधेश प्रदेशका विभिन्न जिल्लामा रहेका सीमा नाकाहरूको सुरक्षा अवस्था, सीमा अपराध नियन्त्रण तथा सुरक्षा चुनौतीका विषयमा समेत अनुगमन केन्द्रित रहेको जनाइएको छ।
सशस्त्र प्रहरी बलका अनुसार महानिरीक्षक पौडेलको यो अनुगमनले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको परिचालन र सुरक्षा व्यवस्थाको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन तथा आवश्यक निर्देशन दिन सहयोग पुगेको छ।
