पर्सा प्रहरी प्रमुख एसपी भट्टराईद्वारा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर

समाचार

(चाडपर्व सुरक्षा, तस्करी नियन्त्रण र लागूऔषध ओसारपसार रोकथामलाई प्राथमिकता दिन मातहतका प्रहरी युनिट प्रमुखलाई निर्देशन)

वीरगञ्ज, असोज २४।

जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सेवाको कार्यसम्पादनलाई थप व्यवस्थित, प्रभावकारी, उत्कृष्ट तथा नतिजामुखी बनाउने उद्देश्यले मातहतका प्रहरी कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन करार हस्ताक्षर कार्यक्रम सम्पन्न गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईको उपस्थितिमा आर्थिक वर्ष २०८३/०८४ का लागि तयार गरिएको ‘कार्ययोजना–२०८३/०८४’ सम्बन्धी वार्षिक कार्यसम्पादन करारमा हस्ताक्षर गरिएको हो।

प्रहरीका विभिन्न गतिविधिलाई व्यवस्थित बनाउँदै कार्यसम्पादनलाई मापनयोग्य, पारदर्शी र परिणाममुखी बनाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। कार्यसम्पादन करारमार्फत मातहतका प्रहरी कार्यालयहरूको जिम्मेवारी, कार्ययोजना र उपलब्धिको मूल्याङ्कनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एसपी भट्टराईले मातहतका सम्पूर्ण प्रहरी युनिट प्रमुखहरूलाई शान्ति सुरक्षा कायम राख्न भरपर्दो सुरक्षा योजना निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उनले कार्यसम्पादन करारमा उल्लेखित लक्ष्यअनुसार जिम्मेवारी पूरा गर्दै उत्कृष्ट नतिजा हासिल गर्न प्रहरी कर्मचारीहरूलाई आग्रह गरेका थिए।

त्यसैगरी, नजिकिँदै गरेका बडादशैं, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन उनले विशेष जोड दिएका थिए। चाडपर्वका समयमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, नागरिकको जीउधनको सुरक्षा तथा सर्वसाधारणलाई सुरक्षित वातावरणमा चाडपर्व मनाउने अवस्था सिर्जना गर्न आवश्यक सुरक्षा रणनीति अपनाउन निर्देशन दिइएको छ।

एसपी भट्टराईले सीमा क्षेत्रमा हुने भन्सार छली, चोरी निकासी तथा अवैध पैठारी नियन्त्रण गर्न, लागूऔषधको ओसारपसार रोक्न र सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी रूपमा परिचालन हुनसमेत मातहतका प्रहरी युनिट प्रमुखहरूलाई निर्देशन दिएका थिए।

सीमा अपराध तथा तस्करी नियन्त्रण, लागूऔषधविरुद्धको अभियान, सवारी व्यवस्थापन र शान्ति सुरक्षा कायम गर्ने कार्यलाई प्राथमिकतामा राख्दै प्रहरी परिचालनलाई थप जिम्मेवार, जवाफदेही र परिणाममुखी बनाउने जिल्ला प्रहरी कार्यालय पर्साको लक्ष्य रहेको छ।

वार्षिक कार्यसम्पादन करार हस्ताक्षर कार्यक्रमले प्रहरी संगठनभित्र जिम्मेवारीबोध, कार्यसम्पादनमा प्रतिस्पर्धात्मक भावना तथा सेवाप्रवाहमा गुणस्तरीयता अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *