काठमाडौं ,२४ असोज । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था सुदृढ बनाउन देशभरका प्रहरी कार्यालय प्रमुखहरूलाई आवश्यक निर्देशन दिएका छन्।
प्रहरी महानिरीक्षक कार्कीले भर्चुअल कन्फरेन्समार्फत उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, सम्पूर्ण तालिम केन्द्रहरू, जिल्ला प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग तथा ट्राफिक सुरक्षा व्यवस्थापन कार्यालयहरू, सम्पूर्ण गण तथा गुल्महरू, जिल्ला ट्राफिक प्रहरी कार्यालयहरू लगायत प्रहरी निरीक्षक प्रमुख रहने प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषय तथा चाडपर्व लक्षित सुरक्षा योजनासम्बन्धी निर्देशन दिएका हुन्। उक्त कार्यक्रममा प्रहरीका विभागीय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो।
निर्देशनका क्रममा आईजीपी कार्कीले चाडपर्वको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीहरूको समयमै पहिचान गरी प्रभावकारी रूपमा नियन्त्रण गर्न विशेष सतर्कता अपनाउन जोड दिएका छन्। आफ्नो जिम्मेवारी क्षेत्रभित्र आवश्यकताअनुसार प्रहरी जनशक्ति परिचालन गरी सुरक्षा व्यवस्था मजबुत बनाउन तथा नागरिकले सुरक्षित वातावरणमा चाडपर्व मनाउन पाउने अवस्था सुनिश्चित गर्न उनले निर्देशन दिएका छन्।
त्यसैगरी, चाडपर्वका बेला हुन सक्ने सम्भावित आपराधिक गतिविधि नियन्त्रण, शान्ति सुव्यवस्था कायम तथा सर्वसाधारणको जीउधनको सुरक्षालाई प्राथमिकतामा राख्न प्रहरी कार्यालय प्रमुखहरूलाई निर्देशन दिइएको छ। चाडपर्वको समयमा यात्रुको चाप बढ्ने भएकाले यातायात व्यवस्थापनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन तथा राजमार्ग र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिनसमेत आईजीपी कार्कीले जोड दिएका छन्।
चाडपर्वका बेला नागरिकले भोग्न सक्ने सुरक्षा चुनौती न्यूनीकरण गर्दै शान्तिपूर्ण र सुरक्षित वातावरण सुनिश्चित गर्न प्रहरी संयन्त्रलाई थप सक्रिय, जिम्मेवार र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिएका छन्।
प्रहरी महानिरीक्षक कार्कीले सम्बन्धित सबै प्रहरी कार्यालयलाई आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्दै सम्भावित सुरक्षा चुनौतीको समयमै सम्बोधन गर्न र शान्ति सुव्यवस्था कायम राख्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।
