बारा,२९ असोज । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्रता दिँदै करिब ९ लाख १० हजार रुपैयाँ मूल्यका अवैध सामान बरामद गरेको छ। अभियानका क्रममा एक जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराअन्तर्गतका बी.ओ.पी. कवहीगोठ, बी.ओ.पी. बरैनिया र बी.ओ.पी. गोलागञ्जबाट खटिएका सुरक्षा टोलीले सीमा क्षेत्रमा गरेको चेकजाँच तथा निगरानीका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका विभिन्न सामान बरामद गरेका हुन्।
बरामद गरिएका सामानमा हरियो तरकारी, जुत्ता–चप्पल, रेडिमेड कपडा, लत्ताकपडा, सुर्तीजन्य सामग्री, मोटरसाइकललगायतका वस्तु रहेका छन्। यसैगरी, अवैध रूपमा ल्याइएको पटाका समेत बरामद गरी आवश्यक प्रक्रिया पूरा गरेर नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बरामद गरिएका सामान आवश्यक कानुनी प्रक्रिया तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा दाखिला गरिएको छ।
यसै क्रममा भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको मोतिहारी क्षेत्रस्थित घोडासहन ग्रामपञ्चायत निवासी ३० वर्षीय सिकेन्द्र कुशवाहालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ।
सशस्त्र प्रहरी बलले सीमा क्षेत्रमा हुने अवैध सामानको ओसारपसार, भन्सार छली तथा प्रतिबन्धित वस्तुको कारोबार नियन्त्रण गर्न निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाएको छ। राजस्व चुहावट नियन्त्रण तथा सीमा सुरक्षालाई प्राथमिकतामा राख्दै मातहतका इकाइहरूलाई सक्रिय रूपमा परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराका प्रवक्ता डीएसपी विक्रममणि अधिकारीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निगरानी तथा चेकजाँचलाई निरन्तरता दिइएको जानकारी दिएका छन्।
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै भन्सार छली गरी सामान ओसारपसार गर्ने गतिविधिमाथि निगरानी थप कडा बनाइएको छ।
