वीरगञ्ज, असार २२ । वीरगञ्ज महानगरपालिका वडा नं. २ अन्तर्गत रहेको श्रीताराचन्द किसनलाल विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहित विद्यालय झोला (ब्याग) वितरण गरिएको छ।
उक्त वितरण कार्यक्रम वडा नं. २ का वडाध्यक्ष मोहम्मद रेयाज मियाको विशेष पहलमा सम्पन्न भएको हो। अध्यक्ष मियाले विद्यार्थीहरूलाई ब्याग, कापी, कलम तथा आवश्यक खेलकुद सामग्रीहरू समेत हस्तान्तरण गरेका थिए।
कार्यक्रममा वडाध्यक्ष मियाले भने, “म आफैं पनि यही विद्यालयको पूर्व विद्यार्थी हुँ, त्यसैले मेरो विशेष माया र समर्पण यस विद्यालयप्रति छ। भविष्यमा पनि मसँग हुने सम्भव सहयोग निरन्तर गर्दै जानेछु।”
ब्याग वितरण कार्यक्रमका अवसरमा विद्यालयका प्रधानाध्यापकले वडाध्यक्ष मियालाई सम्मान स्वरूप गम्छा ओढाई स्वागत गरेका थिए।
उक्त कार्यक्रममा वडा सदस्य बसिर मिया हजाम, अब्दुल लतिफ मिया अंसारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक-शिक्षिका, सामुदायिक प्रहरी, स्थानीयवासी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह र आत्मविश्वास बढाउने अपेक्षा गरिएको छ।
