पत्रकार भरत सरार्फलाई ज्यान मार्ने धम्की दिएको आरोप, प्रेस सेन्टर पर्साद्वारा भर्त्सना

समाचार

वीरगञ्ज ,३१ असोज । समाचार सम्प्रेषण गरेको विषयलाई लिएर न्युज खोज तलाश डटकमका सञ्चालक, प्रेस सेन्टर नेपाल मधेश प्रदेशका सदस्य तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेश परिषद् सदस्य भरत सरार्फलाई ज्यान मार्ने धम्की दिइएको घटनाप्रति प्रेस सेन्टर नेपाल, जिल्ला कार्यसमिति पर्साले गम्भीर ध्यानाकर्षण जनाएको छ।

प्रेस सेन्टर पर्साले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार सरार्फलाई समाचार प्रकाशन तथा सम्प्रेषणको विषयलाई लिएर निरञ्जन अग्रवालले ज्यान मार्ने धम्की दिएको भनिएको घटनाको निन्दा एवं भर्त्सना गरेको हो।

समाचारप्रति चित्त नबुझेमा कानुनी उपचार खोज्ने र प्रेस काउन्सिल नेपालमा उजुरी गर्ने वैधानिक बाटो हुँदाहुँदै फोनमार्फत पत्रकारलाई ज्यान मार्ने धम्की दिनु अत्यन्त दुःखद्, खेदजनक र निन्दनीय विषय भएको प्रेस सेन्टरले जनाएको छ।

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै संगठनले समाचारप्रति असहमति भए कानुनी प्रक्रियामार्फत आफ्नो पक्ष राख्न सकिने स्पष्ट पारेको छ। पत्रकारलाई धम्की दिएर स्वतन्त्र पत्रकारितामाथि दबाब सिर्जना गर्ने कार्य स्वीकार्य नहुने पनि विज्ञप्तिमा जोड दिइएको छ।

प्रेस सेन्टर नेपाल, जिल्ला कार्यसमिति पर्साले पत्रकारलाई ज्यान मार्ने धम्की दिएको आरोपमा संलग्न व्यक्तिमाथि निष्पक्ष छानबिन गरी कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेको छ।

साथै, स्वतन्त्र एवं निर्भीक रूपमा पत्रकारिता गर्ने वातावरण सुनिश्चित गर्न, सञ्चारकर्मीको सुरक्षा प्रत्याभूति गर्न र पत्रकारमाथि हुने धम्की तथा दबाबका घटनालाई गम्भीरतापूर्वक लिन राज्यका सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

प्रेस सेन्टर नेपाल, जिल्ला कार्यसमिति पर्साका सचिव अजित कुमार भुजेलद्वारा जारी विज्ञप्तिमा पत्रकारको सुरक्षा र प्रेस स्वतन्त्रताको संरक्षणका लागि जिम्मेवार बन्न सम्बन्धित सबै पक्षसँग आग्रह गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *