रौतहट ,कार्तिक । रौतहटको मौलापुर नगरपालिका–२, मर्यादपुरस्थित मौलापुर–शीतलपुर सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
आइतबार बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ जाँदै गरेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। मोटरसाइकलमा तीन जना सवार रहेको बताइएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रौतहटको फतुवा विजयपुर नगरपालिका–२, शीतलपुर निवासी ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुर घाइते भएका थिए।
दुर्घटनापछि घाइते तीनै जनालाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल लगिएको थियो। उपचारकै क्रममा आइतबार बिहान करिब ५ बजे सोमरिया देवी ठाकुरको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चालक त्रिविक्रम ठाकुर र सीमा कुमारी ठाकुरको उपचार भइरहेको छ। दुर्घटना हुनुको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
