पर्सा ,१ कार्तिक । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्साको लमरिया गाउँमा सरसफाइ, स्वच्छता र सडक व्यवस्थापनसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ।
ईलाका प्रहरी कार्यालय पोखरियाको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा खुला स्थानमा दिसापिसाब नगर्न, सडकमा गाई, भैंसी तथा बाख्रा नबाँध्न र सडक तथा सार्वजनिक स्थानमा निर्माण सामग्री नराख्न स्थानीयवासीलाई सचेत गराइएको पर्सा प्रहरीले जनाएको छ।
सार्वजनिक स्थानलाई सफा, स्वच्छ र व्यवस्थित राख्ने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा सडक तथा सार्वजनिक क्षेत्रको उचित प्रयोग गर्न, फोहोर व्यवस्थापनमा ध्यान दिन र गाउँको वातावरण स्वच्छ राख्न स्थानीयवासीलाई आग्रह गरिएको थियो।
सडकमा पशुचौपाया बाँध्ने तथा निर्माण सामग्री राख्ने जस्ता गतिविधिले आवागमनमा अवरोध पुग्नुका साथै दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले यस्ता कार्य नगर्न प्रहरीले सचेत गराएको छ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रममार्फत स्थानीयवासीमा जनचेतना अभिवृद्धि गर्दै स्वच्छ, सुरक्षित र व्यवस्थित समाज निर्माण गर्ने उद्देश्य राखिएको छ। यस्ता कार्यक्रमले प्रहरी र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउनुका साथै सार्वजनिक सरसफाइ र सामाजिक अनुशासन कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
