पर्सा,२ कार्तिक । पर्साको पोखरियामा धार्मिक तथा पर्यटकीय स्थलको स्वच्छता कायम राख्ने उद्देश्यले सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
ईलाका प्रहरी कार्यालय पोखरिया, पर्साको सक्रियतामा कालिकामाई युवा समाजको सहकार्यमा कालिकामाई मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको पर्सा प्रहरीले जनाएको छ।
कार्यक्रमअन्तर्गत मन्दिर परिसरमा रहेका फोहोरमैला संकलन तथा व्यवस्थापन गर्दै धार्मिक स्थललाई स्वच्छ, सफा र सुन्दर राख्न सरसफाइ गरिएको थियो।
धार्मिक तथा सार्वजनिक स्थलको संरक्षण, वातावरणीय स्वच्छता र सामाजिक उत्तरदायित्व प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले स्थानीय समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रहरी र स्थानीय युवा समाजबीचको सहकार्यमा सञ्चालन गरिएको यस किसिमको अभियानले समुदाय–प्रहरी सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सार्वजनिक स्थलको संरक्षणमा नागरिकको सहभागिता बढाउन सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रलाई स्वच्छ राख्न स्थानीयवासी, युवा समूह र सरोकारवाला निकायले समेत निरन्तर सहयोग र सक्रियता देखाउनुपर्नेमा जोड दिइएको छ।
