मकवानपुर ,१२ कार्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक कार्यसम्पादन सम्झौता तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गरेको छ।
मिति २०८३ कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम बहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर तथा मातहतका वडा प्रहरी कार्यालय सानोपोखरा र विभिन्न इलाका प्रहरी कार्यालयका प्रमुखहरूबीच वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरिएको हो।
कार्यसम्पादन सम्झौतामार्फत प्रहरी संगठनको कामकारबाहीलाई थप प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउँदै निर्धारित लक्ष्य हासिल गर्ने उद्देश्य राखिएको छ।
सम्झौतापश्चात् एसपी खत्रीले मातहतका कार्यालय प्रमुखहरूलाई शान्ति सुरक्षा कायम गर्ने, प्रहरी कार्यलाई प्रभावकारी बनाउने, अपराध अनुसन्धानलाई तीव्रता दिने तथा विपद् व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो।
उहाँले प्रहरी कर्मचारीको आचरण र व्यावसायिकता सुधार गर्दै नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो। साथै, सुशासन कायम गर्ने र कार्यसम्पादन सम्झौतामा निर्धारित लक्ष्य तथा जिम्मेवारी समयमै पूरा गर्ने गरी कार्य गर्न कार्यालय प्रमुखहरूलाई निर्देशन दिनुभएको थियो।
प्रहरी सेवालाई थप जनमुखी, उत्तरदायी र प्रभावकारी बनाउँदै शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका क्षेत्रमा अपेक्षित उपलब्धि हासिल गर्न वार्षिक कार्यसम्पादन सम्झौता महत्त्वपूर्ण हुने विश्वास गरिएको छ।
कार्यक्रमले मातहतका प्रहरी कार्यालयहरूको जिम्मेवारी स्पष्ट पार्नुका साथै कार्यसम्पादनमा जवाफदेहिता, अनुशासन र परिणाममुखी कार्यशैलीलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
