हेटौँडा ,१२ कार्तिक । मकवानपुर प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले भारतीय नम्बर प्लेटको सुमो गाडीभित्र लुकाइछिपाइ ल्याइएको ४२ किलो ४१० ग्राम गाँजा बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८३ कात्तिक १० गते दिउँसो करिब १ः३५ बजे हेटौँडा उपमहानगरपालिका–१५ स्थित पिपलबोट नजिक पूर्व–पश्चिम महेन्द्र राजमार्गमा चेकजाँचका क्रममा उक्त गाँजा बरामद गरिएको हो।
प्रहरी चौकी रातोमाटेबाट ट्राफिक प्रहरीसहित खटिएको चेकिङ टोलीले सवारीसाधन रोकी जाँच गर्ने क्रममा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट BR1AP6073 को सुमो गाडीमा गाँजा फेला पारेको थियो।
प्रहरीका अनुसार सुमोको बोनट तथा चालकको सिटमुनि बनाइएको फल्स बटममा १९ वटा पोकामा गाँजा लुकाइछिपाइ राखिएको अवस्थामा फेला परेको हो।
पक्राउ पर्नेमा भारतको वैशाली जिल्ला, महुवा टोल निवासी २५ वर्षीय बिर्जु कुमार राय र २६ वर्षीय मन्जय कुमार राय रहेका छन्। उनीहरू सुमो गाडीमा सवार रहेको र बिर्जु कुमार राय चालक रहेको प्रहरीले जनाएको छ।
बरामद गाँजासहित दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही अघि बढाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले उक्त घटनाबारे जानकारी दिएका हुन्।
