वीरगञ्ज, असोज ४।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भारतबाट अबैध रूपमा भन्सार छली ल्याइएका कपडा र ई–रिक्सा बरामद गरेको छ।
आज बिहान करिब ९:३० बजे वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकमा स.प्र.स.नि. दिपेश चौधरीको कमाण्डमा खटिएको सात सदस्यीय मोवाइल टोलीले उक्त बरामद गरेको हो। टोलीले मधेश प्रदेश ०३–००१ ह २७६९ नम्बरको ई–रिक्सामा लोड गरी परवानीपुरतर्फ लैजाँदै गरिएको अवस्थामा करिब ५० हजार रुपैयाँ बराबरको कपडा र ३ लाख रुपैयाँ बराबरको ई–रिक्सा गरी कुल ३ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरीका अनुसार चालक र संलग्न व्यक्तिहरू सामान छोडेर फरार भएका थिए। बरामद सामान र सवारीसाधन आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया जारी रहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ।
