रातिको अँध्यारोमा चौपाया तस्करी, १० वटा गाईगोरु एसएसबीको नियन्त्रणमा

समाचार

रौतहट, १२ कात्तिक। नेपालबाट भारततर्फ भइरहेको चौपाया तस्करीको प्रयास भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीको संयुक्त कारबाहीपछि विफल भएको छ। भारत–नेपाल सीमा क्षेत्रमा गरिएको निगरानीका क्रममा तस्करीमा प्रयोग भइरहेका १० वटा गाईगोरु बरामद भएका हुन्।

बारा जिल्ला संग जोडिएको भारतको बिहारस्थित मोतिहारीमा तैनाथ एसएसबीको ७१औँ बटालियनअन्तर्गत ई–कम्पनी बेलदरवामठ र आदापुर प्रहरीको संयुक्त टोलीले बिहीबार बिहान करिब २:१५ बजे उक्त चौपाया नियन्त्रणमा लिएको हो।

एसएसबीको इन्टेलिजेन्स युनिटबाट प्राप्त विशेष सूचनाका आधारमा संयुक्त टोलीले भारतको इनर्वा (लरहाटोला) गाउँनजिकै निगरानी बढाएको थियो। सो क्रममा नेपाल–भारत सीमा स्तम्भ नम्बर ३८४/१८ बाट भारतीय भूमितर्फ करिब ५० मिटरको दूरीमा तस्करीका लागि ल्याइएका चौपाया फेला परेका थिए।

बरामद चौपायामा तीन वटा गाई, चार वटा बाच्छा र तीन वटा बाच्छी छन्। प्रारम्भिक विवरणअनुसार ती चौपाया नेपालको निलकण्ठ क्षेत्रबाट भारतको सिरसियाकलातर्फ लैजाँदै गरिएको थियो।

संयुक्त सुरक्षा टोलीले चौपाया नियन्त्रणमा लिए पनि तस्करीमा संलग्न व्यक्तिहरू भने रातिको अँध्यारोको फाइदा उठाउँदै नेपालतर्फ फरार भएका थिए।

बरामद गरिएका सबै चौपाया थप कानुनी प्रक्रिया अघि बढाउन आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सूचनाका आधारमा निगरानी तथा संयुक्त गस्तीलाई निरन्तरता दिइएको एसएसबीको ७१औँ बटालियन मुख्यालय पिपराकोठीले जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *