काठमाडौं ,१३ कार्तिक । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने आशयका समाचार तथा सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति नेपाल प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत पुष्टि नभएका विषयलाई अनुमानका आधारमा समाचार तथा टिप्पणीका रूपमा प्रस्तुत नगर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालासँग आग्रह गरेको हो।
प्रहरीले अपुष्ट, भ्रामक, तथ्यहीन तथा स्वार्थकेन्द्रित सूचनाले आम नागरिकमा भ्रम र नकारात्मकता सिर्जना गर्नुका साथै सुरक्षा जोखिम निम्त्याउन सक्ने जनाएको छ। यस्ता सूचनाले नागरिकको सेवामा समर्पित सुरक्षा संगठनप्रतिको विश्वास, सांगठनिक छवि र निष्ठामा समेत असर पार्न सक्ने प्रहरीको भनाइ छ।
विज्ञप्तिमा सत्य, तथ्यपरक तथा विश्वसनीय सूचना प्राप्त गर्नु नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ। साथै पत्रकारिताको व्यावसायिक आचारसंहिता पालना गर्दै नागरिकप्रतिको जिम्मेवारी निर्वाह गर्न पनि अनुरोध गरिएको छ।
नेपाल प्रहरीले सरकारको नीति तथा निर्देशनअनुसार नागरिकप्रतिको विधिसम्मत जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न आफू सदैव प्रतिबद्ध रहेको स्पष्ट पारेको छ। कुनै पनि प्रकारका भ्रामक प्रचार, अनावश्यक दबाब वा गैरकानुनी गतिविधिबाट विचलित नभई संवैधानिक तथा कानुनी जिम्मेवारी पूरा गर्न संगठन कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै, भ्रामक समाचार तथा स्वार्थकेन्द्रित टिप्पणीबाट विचलित नभई उच्च मनोबलका साथ एकताबद्ध भएर काम गर्न प्रहरीका सकल दर्जाका कर्मचारीलाई निर्देशनसमेत दिइएको छ।
प्रहरीले संगठनको प्रतिष्ठा, व्यावसायिकता तथा कार्यसम्पादनमाथि भ्रम सिर्जना गर्ने उद्देश्यले नियोजित रूपमा गलत सूचना सम्प्रेषण गरी नेपाल प्रहरीलाई कमजोर बनाउने वा सुरक्षा संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्न सकिन्छ भन्ने सोच राख्ने सीमित व्यक्तिहरूको गतिविधिलाई गम्भीर रूपमा लिएको जनाएको छ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूमाथि प्रचलित कानुनबमोजिम आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत प्रहरीले दिएको छ।
आम नागरिकलाई प्रमाणित, आधिकारिक तथा तथ्यमा आधारित समाचारमा विश्वास गर्न र अपुष्ट सामग्रीको अनावश्यक प्रसार नगर्न आग्रह गर्दै नेपाल प्रहरीले सार्वजनिक सुरक्षा, शान्ति सुव्यवस्था कायम, अपराध नियन्त्रण तथा नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्ने आफ्नो जिम्मेवारीबाट कुनै हालतमा विचलित नहुने स्पष्ट पारेको छ।
प्रहरी नायव महानिरीक्षक एवं केन्द्रीय प्रहरी प्रवक्ता अबि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त कुरा उल्लेख गरिएको छ।
