डाँका र ज्यानसम्बन्धी कसुरको सफल अनुसन्धानमा महत्वपूर्ण भूमिका, प्रहरी सहायक हवल्दार शिवशंकर यादव बने असोज महिनाको उत्कृष्ट प्रहरी

समाचार

वीरगञ्ज ,१६ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी सहायक हवल्दार शिवशंकर प्रसाद यादवलाई २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी सहायक हवल्दार यादवले संगठनको नीति तथा निर्देशनअनुसार आफूलाई प्रदान गरिएको जिम्मेवारी र पदीय दायित्व इमानदार, बफादार तथा कर्तव्यनिष्ठ भएर उच्च व्यावसायिक दक्षताका साथ निर्वाह गर्दै आएको मूल्याङ्कन गर्दै उनलाई महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो।

विशेषगरी डाँका तथा ज्यानसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्राविधिक विश्लेषणमार्फत सफल अनुसन्धान कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कार्यालयले उनको कार्यसम्पादनको उच्च मूल्याङ्कन गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले प्रशंसापत्र प्रदान गर्दै प्रहरी सहायक हवल्दार यादवलाई २०८३ साल असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्।

प्रहरी संगठनप्रति इमानदारी, जिम्मेवारीप्रतिको प्रतिबद्धता र अपराध अनुसन्धानमा देखाएको व्यावसायिक दक्षताको कदरस्वरूप प्रदान गरिएको यस सम्मानले प्रहरी कर्मचारीहरूमा थप उत्साह, मनोबल र कर्तव्यप्रतिको जिम्मेवारीबोध बढाउने अपेक्षा गरिएको छ।

प्रहरी उपरीक्षक भट्टराईले आगामी दिनमा समेत पेशागत कर्तव्यप्रति वफादार रहँदै अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यमा अझ प्रभावकारी योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई प्रोत्साहन तथा सम्मान गर्ने उद्देश्यले प्रदान गरेको यस सम्मानलाई प्रहरीभित्रको सकारात्मक कार्यसंस्कृति र व्यावसायिक प्रतिस्पर्धा प्रवर्द्धन गर्ने प्रयासका रूपमा हेरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *