रुपन्देही ,२५ कार्तिक । सशस्त्र प्रहरी बल, नेपालले लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै रुपन्देहीमा तालिमप्राप्त कुकुर डग सायाँको सहयोगमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको छ।
मिति २०८३ साल कार्तिक २४ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा, रुपन्देही र सुरक्षा बेस नौडिहवाबाट डग सायाँसहित खटिएको संयुक्त टोलीले उक्त सफलता हासिल गरेको हो।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका–१ स्थित पिपलबोट इलाकामा भारतबाट नेपालतर्फ आउँदै गरेका एक व्यक्तिलाई चेकजाँच गर्ने क्रममा तालिमप्राप्त कुकुरले शंका लाग्ने संकेत गरेको थियो। त्यसपछि सुरक्षाकर्मीले थप जाँच गर्दा ती व्यक्तिको साथबाट ५४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर फेला पारेका थिए।
बरामद गरिएको लागुऔषधसहित सम्बन्धित व्यक्तिलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।
सीमावर्ती क्षेत्रमा हुने लागुऔषध ओसारपसार तथा अवैध कारोबार नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, चेकजाँच र विशेष निगरानीलाई प्रभावकारी बनाउँदै आएको छ। डग सायाँको प्रयोगबाट गरिएको यस किसिमको चेकजाँचले लागुऔषध नियन्त्रण अभियानमा थप प्रभावकारिता ल्याउने विश्वास गरिएको छ।
