प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङद्वारा भाइटीकाको शुभकामना व्यक्त

समाचार

काठमाडौं,२५ कार्तिक  । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका पर्व देशभर हर्षोल्लास, श्रद्धा र पारिवारिक आत्मीयताका साथ मनाइँदै छ। यस अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरुङले स्वदेश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई भाइटीकाको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र समृद्धिको कामना गरेका छन्।

प्रधानमन्त्री शाहले पौराणिक मान्यताअनुसार कार्तिक शुक्ल द्वितीयाका दिन बहिनी यमुनाको निमन्त्रणामा यमराज उहाँको निवासमा पुग्नुभएको र यमुनाले दाजुलाई विधिपूर्वक टीका तथा पूजा गरी आदरसत्कार गर्नुभएको प्रसङ्ग स्मरण गरेका छन्।

बहिनीको प्रेम, निष्ठा र आतिथ्यबाट प्रसन्न यमराजले यस दिन बहिनीबाट टीका तथा पूजा ग्रहण गर्ने दाजुभाइलाई मृत्युको भयबाट मुक्ति मिल्नुका साथै दीर्घायु, सुस्वास्थ्य र सौभाग्य प्राप्त हुने वरदान दिएको धार्मिक विश्वास रहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन्।

उनले भाइटीकाको परम्पराअनुसार दिदीबहिनीले आफ्ना दाजुभाइको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै दूबो, मखमली तथा सयपत्रीको माला लगाइदिने, ओखर फुटाउने, तेलको रेखाले छेक्ने, सप्तरङ्गी टीका लगाउने र विभिन्न मिष्ठान्न परिकार खुवाउने चलन रहेको पनि स्मरण गराएका छन्। यसैगरी दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार दक्षिणा प्रदान गरी आशीर्वाद ग्रहण गर्ने परम्पराले आपसी सम्बन्धलाई थप आत्मीय बनाउने उनको सन्देश छ।

प्रधानमन्त्री शाहले भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, आपसी सम्मान र आत्मीयतालाई अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन्।

त्यसैगरी, गृहमन्त्री सुदन गुरुङले पनि सामाजिक सञ्जालमार्फत भाइटीकाको शुभकामना व्यक्त गरेका छन्। उनले दिदीबहिनी र दाजुभाइबीचको अटुट प्रेम तथा आपसी विश्वासको प्रतीकका रूपमा रहेको भाइटीका पर्वको अवसरमा सबै नेपालीमा हार्दिक मंगलमय शुभकामना दिएका छन्।

भाइटीका नेपाली समाजमा पारिवारिक एकता, प्रेम, सद्भाव र सांस्कृतिक परम्पराको महत्त्वपूर्ण पर्वका रूपमा स्थापित छ। यस पर्वले दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई अझ बलियो बनाउनुका साथै परिवार र समाजमा आपसी सद्भाव, सम्मान तथा एकताको भावना अभिवृद्धि गर्ने विश्वास गरिन्छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *