रसीद आलम,पर्सा ,बैशाख ५।
बिलबिजक भन्दा बढी खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू लोड रहेको दुईवटा ट्रकहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी विभिन्न किसिमका खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरू बोकेको ट्रकहरू विरगञ्जबाट धनुषा तथा सिन्धुली तर्फ लैजाँदै गरेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बैशाख ४ गते वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघर स्थित सडकखण्डबाट ना.३ ख ५३८४ र ना.३ ख ६०७५ नम्बरको मालवाहक ट्रकहरूलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा सो ट्रकहरूलाई नियन्त्रणमा लिईएको हो।
उक्त पक्राउ परेका ट्रकहरू र सो भित्र लोड रहेको खुद्रा, हार्डवेयर तथा लत्ताकपडाहरूको रू.९९ लाख ९८ हजार २ सय ८० बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
