वीरगञ्ज, २० असार। पर्साको छिपहरमाई गाउँपालिकामा एक भारतीय नागरिक लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार शुक्रबार साँझ करिब ५:५० बजे छिपहरमाई गाउँपालिका–५ स्थित भिष्वा चेकपोष्टमा नियमित चेकजाँचका क्रममा भारतको उन्नाव जिल्ला निवासी ३६ वर्षीय राजु निषाद पक्राउ परेका हुन्।
प्रहरी चौकी भिष्वा र बीओपी भिष्वा बन्जारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको साथबाट अन्दाजी २ किलोग्राम लागूऔषध (गाँजा) जस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
पक्राउ परेका निषादलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
