रसीद आलम
पर्सा, २७ साउन ।
विपद् व्यवस्थापन, उद्धार तथा समाजमा शान्ति र सुरक्षा कायम गर्न स्वयंसेवकहरूको भूमिका महत्वपूर्ण रहेको सशस्त्र प्रहरी बल, मधेस प्रदेशका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टले बताएका छन्।
सखुवा प्रसौनी गाउँपालिका र सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको समन्वय तथा सहकार्यमा सञ्चालित ‘विपद् स्वयंसेवक परिचालन आधारभूत तालिम’ को समापन समारोहलाई सम्बोधन गर्दै डीआईजी भट्टले विपद्का समयमा गरिने उद्धार तथा मानवीय सहयोगलाई सेवाको महत्वपूर्ण स्वरूपका रूपमा लिनुपर्ने बताए।
उनले विपद् कुनै पनि बेला र जुनसुकै स्वरूपमा आउन सक्ने भएकाले स्थानीयस्तरमै दक्ष र प्रशिक्षित स्वयंसेवकको समूह तयार गर्नु आवश्यक रहेको बताए। विपद्को समयमा पहिलो उद्धारकर्ता स्थानीय समुदाय नै हुने भएकाले स्वयंसेवकहरूलाई आधारभूत उद्धार, प्राथमिक उपचार, खोज तथा उद्धारलगायतका सीपमा दक्ष बनाउनुपर्नेमा उनले जोड दिए।
डीआईजी भट्टले विगतमा विपद्का घटनामा उद्धारका लागि बाह्य जनशक्ति र विशेषज्ञ टोलीको प्रतीक्षा गर्नुपर्ने अवस्था रहे पनि अहिले नेपालमै आवश्यक दक्ष जनशक्ति र उपकरणको क्षमता विस्तार हुँदै गएको बताए।
“आजभन्दा १०–११ वर्षअघि कुनै पोखरीमा बालक डुब्दा समेत बाहिरका देशबाट उद्धार टोली तथा गोताखोर झिकाउनुपर्ने बाध्यता थियो,” उनले भने, “अब त्यो अवस्था धेरै हदसम्म अन्त्य भएको छ। सशस्त्र प्रहरीसँग पर्याप्त संख्यामा गोताखोरसहित दक्ष उद्धार टोली रहेको छ।”
उनका अनुसार सशस्त्र प्रहरी बलले बाढी, डुबान, पहिरो, आगलागी, सडक दुर्घटना तथा अन्य प्राकृतिक एवं मानवीय विपद्का घटनामा उद्धार तथा राहत कार्यलाई प्राथमिकतामा राख्दै आएको छ। विपद् व्यवस्थापनका क्रममा नेपाल प्रहरी, नेपाली सेना, स्थानीय तह, सरकारी तथा गैरसरकारी निकाय र स्थानीय समुदायसँग समन्वय र सहकार्य गर्दै सशस्त्र प्रहरी अग्रपंक्तिमा रहेर काम गरिरहेको उनले बताए।
डीआईजी भट्टले विपद् उद्धारलाई केवल सुरक्षाकर्मीको जिम्मेवारीका रूपमा मात्र नहेरी यसलाई मानवीय सेवाको महत्वपूर्ण दायित्वका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे। विपद्को समयमा पीडितको जीवन जोगाउनु सबैभन्दा ठूलो प्राथमिकता हुने भन्दै उनले प्रशिक्षित स्वयंसेवकहरूले स्थानीयस्तरमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने बताए।
उनले स्वयंसेवकहरूलाई विपद्का बेला मात्रै परिचालन हुने जनशक्तिका रूपमा सीमित नगरी समाजमा शान्ति, सद्भाव र आपसी सहयोगको वातावरण निर्माण गर्नसमेत सक्रिय बनाउनुपर्ने बताए। समुदायमा स्वयंसेवक र सुरक्षाकर्मीबीचको सहकार्यले विपद् न्यूनीकरणसँगै सामाजिक सुरक्षा र शान्ति स्थापनामा समेत सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्री , प्रमुख जिल्ला अधिकारी, सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्षलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।
वक्ताहरूले विपद् व्यवस्थापनका लागि स्थानीय तह, सुरक्षा निकाय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। उनीहरूले विपद्को जोखिम रहेका क्षेत्रमा पूर्वतयारी, जनचेतना र स्थानीय स्वयंसेवकको क्षमता विकासलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
तालिमले स्थानीय समुदायमा विपद्का सम्भावित जोखिम पहिचान, उद्धारका आधारभूत उपाय, प्राथमिक उपचार, सुरक्षित उद्धार तथा आपत्कालीन अवस्थामा अपनाउनुपर्ने सावधानीबारे व्यवहारिक ज्ञान र सीप विकास गर्न सहयोग पुगेको आयोजकले जनाएको छ।
सखुवा प्रसौनी गाउँपालिका र सशस्त्र प्रहरी बलबीचको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमले स्थानीयस्तरमा विपद् प्रतिकार्यका लागि आवश्यक जनशक्ति तयार गर्न महत्वपूर्ण आधार निर्माण गरेको सहभागीहरूले बताएका छन्।
विपद् जुनसुकै समयमा आउन सक्ने भएकाले राज्यका सुरक्षा तथा उद्धार निकायसँगै स्थानीय समुदायलाई समेत तयारी अवस्थामा राख्नुपर्ने आवश्यकता बढ्दै गएको छ। यस्तो अवस्थामा प्रशिक्षित स्वयंसेवकको परिचालनले विपद्का कारण हुने मानवीय क्षति न्यूनीकरण गर्न तथा आपत्कालीन अवस्थामा उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
