पर्सामा लैङ्गिक हिंसा नियन्त्रणका लागि सरोकारवालाबीच अन्तरक्रिया

समाचार

वीरगञ्ज, २७ साउन । जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा लैङ्गिक हिंसा नियन्त्रण तथा न्यूनीकरणका विषयमा जिल्ला स्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बुधबार दिउँसो करिब ३ बजे जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक पवन कुमार भट्टराईको अध्यक्षता रहेको थियो।
कार्यक्रममा जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, शिक्षा क्षेत्रका प्रतिनिधि तथा मानव अधिकारकर्मीहरूको सहभागिता रहेको थियो।

अन्तरक्रियामा समाजमा बढ्दै गएको लैङ्गिक हिंसा नियन्त्रण, हिंसाका घटना न्यूनीकरण, पीडितको संरक्षण तथा न्यायमा पहुँच सुनिश्चित गर्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले लैङ्गिक हिंसा नियन्त्रणका लागि प्रहरी, प्रशासन, नागरिक समाज, सञ्चार क्षेत्र, शैक्षिक संस्था तथा मानव अधिकारसँग सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमले लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडितमैत्री सेवा प्रवाह र हिंसा नियन्त्रणका लागि सरोकारवाला निकायबीच सहकार्य थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *