काठमाडौं, २७ साउन । स्रोत नखुलेको नेपाली तथा भारतीय नगदसहित काठमाडौंमा एक जना पक्राउ परेका छन्।
काठमाडौं महानगरपालिका–१४, कुलेश्वरस्थित फलफूल मण्डीमा रहेको आँचल फ्रुट सेन्टर मा स्रोत नखुलेको हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले पसलमा छापा मारेको हो।
प्रहरी वृत्त कालीमाटी र काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखा, कालीमाटी शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार दिउँसो करिब १ः४० बजे पसल तथा सञ्चालकको डेरा कोठामा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा पसल सञ्चालक पर्साको छिपहरमाई गाउँपालिका–१ घर भई हाल काठमाडौं कुलेश्वर बस्ने ३३ वर्षीय जितेन्द्र साह तुरहा को साथ तथा कोठाबाट स्रोत नखुलेको नेपाली नगद रु. ७६ लाख २७ हजार ३०० र भारतीय नगद रु. ३ लाख ४ हजार ३०० बरामद भएको प्रहरीले जनाएको छ।
बरामद रकम नेपाली रुपैयाँमा हिसाब गर्दा करिब रु. ८१ लाख १३ हजार ७५० बराबर हुन आउँछ।
प्रहरीले साहलाई नियन्त्रणमा लिएर हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापा का अनुसार पक्राउ परेका साहविरुद्ध काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
