पर्सा र बाराको सीमा क्षेत्रमा सशस्त्र प्रहरीको ठूलो कारबाही, १६ लाखभन्दा बढीको अवैध सामान बरामद

समाचार

(भन्सार छली ल्याइएका कपडा, औषधि, जुत्ता, तरकारीलगायतका सामान नियन्त्रणमा, ६० लिटर घरेलु मदिरा नष्ट)

वीरगञ्ज,२७ कार्तिक  । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्रता दिँदै १६ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्सा तथा मातहतका विभिन्न कार्यालयबाट खटिएका टोलीले भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याउँदै गरेका तथा विभिन्न स्थानमा लुकाइछिपाइ राखिएका सामान नियन्त्रणमा लिएका हुन्।

सशस्त्र प्रहरीका अनुसार भारतबाट विभिन्न सवारीसाधनमा लोड गरी नेपालतर्फ ल्याउँदै गरेको करिब १ लाख ४३ हजार ४५१ रुपैयाँ बराबरको भिटामिन तथा औषधि बरामद गरिएको छ। त्यसैगरी, पर्साको बिन्दवासिनी गाउँपालिका–३ झौवागुठीस्थित सीमा सुरक्षा चौकी अमरपट्टीबाट खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको १ लाख १ हजार रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको छ।

यसैबीच, पर्सा र बारा जिल्लाको सीमा नजिकै रहेको एक छाप्रोमा भन्सार छली ल्याइएका कपडा लुकाइछिपाइ राखिएको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा र नं. १२ गण हेडक्वार्टर बाराबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो। सो क्रममा करिब ९ लाख ७० हजार रुपैयाँ बराबरको कपडा बरामद गर्न टोली सफल भएको छ।

त्यस्तै, सशस्त्र प्रहरीका मातहतका कार्यालयबाट विभिन्न स्थानमा खटिएका टोलीले थप ४ लाख ५ हजार ५९० रुपैयाँ बराबरका मोटरसाइकल, औषधि, तरकारी, जुत्ता, अगरबत्ती, नरिवललगायतका विभिन्न सामान बरामद गरेका छन्।

उक्त बरामद गरिएका अवैध सामानहरू आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

यसैगरी, सीमा सुरक्षा तथा अवैध कारोबार नियन्त्रणकै क्रममा सीमा सुरक्षा चौकी प्रसौनीभाठ्ठाबाट खटिएको टोलीले नेपालबाट अवैध रूपमा भारततर्फ लैजाँदै गरेको ६० लिटर घरेलु मदिरासमेत नियन्त्रणमा लिएको छ। बरामद मदिराको मूल्य करिब १२ हजार रुपैयाँ रहेको र आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरिएको जनाइएको छ।

सीमा क्षेत्रमा हुने चोरीपैठारी, भन्सार छली तथा अवैध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई प्रभावकारी बनाउँदै आएको छ। विशेष सूचनाका आधारमा संयुक्त टोली परिचालन गरी लुकाइछिपाइ राखिएका सामानसमेत बरामद हुनुले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता थप बढेको देखिन्छ।

अवैध रूपमा हुने सामानको आयात–निर्यात नियन्त्रण गर्दै राजस्व चुहावट रोक्ने तथा सीमाको सुरक्षा व्यवस्था मजबुत बनाउने उद्देश्यले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिइने सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज क्षेत्रीले उक्त जानकारी दिएका हुन्।

 

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *