छठ पर्वलाई लक्षित गर्दै वीरगञ्जमा २८ घण्टासम्म विशेष ट्राफिक व्यवस्थापन, विभिन्न सडक तथा चोकमा सवारी आवागमन निषेध

समाचार

वीरगञ्ज,२८ कार्तिक  । छठीमाई पर्व एवं मेलालाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगञ्जमा विशेष ट्राफिक व्यवस्थापन योजना लागू गर्ने भएको छ। पर्वका अवसरमा घडिअर्वा पोखरीलगायतका छठघाटमा व्रतालु, श्रद्धालु भक्तजन तथा सर्वसाधारणको ठूलो भीड लाग्ने भएकाले सवारी आवागमनलाई सहज र व्यवस्थित बनाउन विभिन्न सडक तथा चोकबाट सवारी साधनको प्रवेशमा रोक लगाउँदै ट्राफिक डाइभर्सनको व्यवस्था मिलाइएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्साले जारी गरेको सूचनाअनुसार २०८३ साल कार्तिक २९ गते बिहान ६ बजेदेखि कार्तिक ३० गते बिहान १० बजेसम्म विशेष ट्राफिक व्यवस्थापन लागू हुनेछ। यस अवधिमा सवारी साधनको प्रकृति र आवागमनको अवस्थालाई ध्यानमा राख्दै फरक–फरक स्थानबाट प्रवेश निषेध तथा वैकल्पिक सडक प्रयोग गर्ने व्यवस्था गरिएको छ।

ट्राफिक व्यवस्थापन योजनाअनुसार हेभी सवारी साधनहरूलाई पावरहाउस चोकबाट घण्टाघरतर्फ तथा रजत जयन्ती चोकबाट मकालुतर्फ प्रवेश गर्न रोक लगाइएको छ। त्यस्ता सवारी साधनका चालकहरूलाई वैकल्पिक रूपमा बाइपास सडकखण्ड प्रयोग गर्न अनुरोध गरिएको छ।

त्यसैगरी, तीनपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनहरूलाई घण्टाघरबाट माईस्थानतर्फ र मकालु चोकबाट आदर्शनगरतर्फ प्रवेश निषेध गरिएको छ। उक्त रुट प्रयोग गर्ने सवारी चालकहरूलाई रेल्वे सडकखण्ड तथा बाइपास सडकखण्डमार्फत आवागमन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

यसैगरी, घडिअर्वा पोखरी क्षेत्रमा छठ पर्व मनाउन आउने श्रद्धालु भक्तजनहरूको आवागमन सुरक्षित बनाउन दुईपाङ्ग्रे लगायत सम्पूर्ण सवारी साधनहरूलाई पोखरीतर्फ जाने विभिन्न प्रवेश मार्गबाट रोक लगाइएको छ।

जसअनुसार माईस्थान चोक, लाठ गल्ली चोक, कर कार्यालय, अशोकबाटिका चोक, हनुमान मन्दिर (खेलकुद विकास समितिको कार्यालय पछाडि) तथा कबर्ड हल (खेलकुद विकास समितिको कार्यालय अगाडि) बाट घडिअर्वा पोखरीतर्फ सवारी साधन प्रवेश गर्न पाउने छैनन्।

छठ पर्वका अवसरमा अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ्य दिन घडिअर्वा पोखरीलगायतका छठघाटमा हजारौँ श्रद्धालु भक्तजनको उपस्थिति रहने भएकाले सवारी साधनको अनियन्त्रित आवागमनले दुर्घटना, ट्राफिक जाम तथा भक्तजनलाई असहज अवस्था सिर्जना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले निर्धारित समयभित्र सवारी चालकहरूलाई तोकिएका वैकल्पिक मार्ग प्रयोग गर्न, ट्राफिक संकेत तथा प्रहरीको निर्देशन पालना गर्न र अनावश्यक रूपमा निषेधित क्षेत्रमा सवारी प्रवेश नगराउन अनुरोध गरेको छ।

साथै, सवारी साधनको चाप, तत्कालीन परिस्थिति तथा छठघाटमा भक्तजनहरूको भीडको अवस्थालाई मूल्याङ्कन गरी आवश्यकताअनुसार तोकिएको ट्राफिक डाइभर्सनमा परिवर्तनसमेत हुन सक्ने कार्यालयले जनाएको छ।

छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित, व्यवस्थित तथा मर्यादित रूपमा सम्पन्न गराउन ट्राफिक प्रहरीको निर्देशन पूर्ण रूपमा पालना गर्दै सहयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय वीरगञ्ज, पर्साले सम्पूर्ण सवारी चालक, स्थानीयवासी तथा श्रद्धालु भक्तजनहरूमा विशेष अनुरोध गरेको छ।

ट्राफिक नियमको पालना गरौँ, छठ पर्वलाई सुरक्षित र व्यवस्थित बनाऔँ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *