वीरगञ्ज, २८ कात्तिक । आस्था, विश्वास, श्रद्धा र सामाजिक सद्भावको महान् पर्व छठलाई भव्य, सभ्य, सुरक्षित तथा मर्यादित रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लावासीका नाममा विशेष सार्वजनिक अपिल जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्वको अवसरमा सम्पूर्ण जिल्लावासीमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै पर्वका क्रममा शान्ति सुरक्षा कायम राख्न, सम्भावित दुर्घटना न्यूनीकरण गर्न तथा धार्मिक एवं सामाजिक मर्यादा जोगाउन सबै पक्षसँग सहयोगको आग्रह गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी अपिलमा मिति २०८३ कात्तिक २८ गते बसेको जिल्ला सुरक्षा समिति, पर्साको बैठकको निर्णय नम्बर ३ र ४ बमोजिम विभिन्न सुरक्षा तथा व्यवस्थापनसम्बन्धी निर्देशनहरू सार्वजनिक गरिएको छ।
प्रशासनले छठ पर्वका बेला आगलागी, मानवीय क्षति तथा अन्य अप्रिय घटना हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै पटका, आतसबाजी लगायतका प्रज्वलनशील तथा विस्फोटकजन्य पदार्थको ओसारपसार, बिक्री वितरण र प्रयोग नगर्न तथा नगराउन सबैमा आग्रह गरेको छ। यस्ता प्रतिबन्धित गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत प्रशासनले दिएको छ।
त्यसैगरी, छठ पूजाका लागि विभिन्न पोखरी, नदी, तलाउ तथा जलाशयमा निर्माण गरिएका घाटहरूमा श्रद्धालु भक्तजनको अत्यधिक भीडभाड हुने भएकाले विशेष सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा सर्वसाधारण व्यक्तिहरू पानीमा डुब्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै अभिभावक तथा छठ पूजा व्यवस्थापन समितिहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित विपद् तथा दुर्घटना हुन नदिन आवश्यक उद्धार उपकरणसहित सुरक्षाकर्मीहरू तयारी अवस्थामा रहने जानकारी दिँदै प्रशासनले कुनै अप्रिय घटना भएमा तत्काल उद्धार तथा सुरक्षासम्बन्धी कार्यलाई प्रभावकारी बनाइने जनाएको छ।
छठ पर्वको धार्मिक पवित्रता, सामाजिक सद्भाव तथा सांस्कृतिक मर्यादा कायम राख्ने उद्देश्यले कात्तिक २८ र २९ गते छठ पूजास्थल तथा घाट वरिपरिको क्षेत्रमा माछा, मासु लगायतका खाद्य पदार्थ तथा सम्पूर्ण मादक पदार्थको बिक्री वितरण र सेवन पूर्ण रूपमा बन्द गर्न तथा गराउन प्रशासनले सम्बन्धित व्यवसायी, होटल सञ्चालक, छठ पूजा व्यवस्थापन समिति र सरोकारवालाहरूलाई सूचित गरेको छ।
प्रशासनले पर्व अवधिभर जिल्लाको शान्ति सुरक्षालाई चुस्त, प्रभावकारी र सुदृढ बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा छठ पूजा व्यवस्थापन समितिबीच आवश्यक समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिएको छ।
छठ पर्व केवल धार्मिक आस्थाको पर्व मात्र नभई आपसी प्रेम, सद्भाव, सहिष्णुता, एकता र सामाजिक एकताको प्रतीकसमेत भएकाले यसको गरिमा कायम राख्न सबै जिल्लावासी जिम्मेवार बन्नुपर्ने प्रशासनको आग्रह छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको सार्वजनिक अपिलमार्फत जिल्लावासी, छठ पूजा व्यवस्थापन समिति, व्यवसायी तथा सम्पूर्ण सरोकारवालालाई प्रशासनका निर्देशन पूर्ण रूपमा पालना गर्दै छठ पर्वलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ।
