वीरगञ्ज, फागुन ३ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसै क्रममा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्गटाको प्रत्यक्ष उपस्थितिमा वीरगञ्ज महानगरपालिका वडा नं. १३ का युवा नेता अनारुल अन्सारीलाई भव्य कार्यक्रमबीच पार्टी प्रवेश गराइएको छ।
वीरगञ्ज महानगरपालिका–१३ मा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलम, वडा नं. १३ का वडा अध्यक्षका प्रत्याशी तथा नेपाली कांग्रेसका युवा नेता शेख रुस्तम, साथै वडा नं. १५ का युवा नेता शिव शंकर यादव लगायतको सहभागिता रहेको थियो।
पार्टी प्रवेश कार्यक्रममा बोल्दै उम्मेदवार रुङ्गटाले युवा शक्तिको साथ र समर्थनले आगामी निर्वाचनमा आफ्नो विजय सुनिश्चित हुने विश्वास व्यक्त गरे। उनले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए।
नवप्रवेशी युवा नेता अनारुल अन्सारीले नेपाली कांग्रेसको नीति, सिद्धान्त र लोकतान्त्रिक मूल्यबाट प्रभावित भएर पार्टीमा प्रवेश गरेको बताएका छन्। उनले आगामी निर्वाचनमा पार्टीको विजयका लागि सक्रिय रूपमा लाग्ने प्रतिबद्धता व्यक्त गरे।
स्थानीय स्तरमा युवा नेताहरूको कांग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै जाँदा पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसको चुनावी अभियान थप सशक्त बन्दै गएको स्थानीय नेताहरूले बताएका छन्।
