(पुलमा ठोक्किएर स्कुटर दुर्घटना हुँदा १८ र २५ वर्षीय युवकको ज्यान गयो, घाइते दुई किशोरको वीरगन्ज र गौरमा उपचार हुँदै)
रौतहट ,३० कार्तिक । रौतहटको राजदेवी नगरपालिका–१ मोतिपुरस्थित भित्री सडकखण्डमा स्कुटर अनियन्त्रित भई पुलमा ठोक्किँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज दिउँसो करिब १६:०० बजेको समयमा झुनखुनवाबाट मोतिपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-०४२-प १४२९ नम्बरको स्कुटर अनियन्त्रित भई सडकमा रहेको पुलमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा स्कुटरमा सवार चारै जना घाइते भएका थिए। दुर्घटनालगत्तै उनीहरूलाई उद्धार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको थियो। उपचारका क्रममा चिकित्सकले दुई जनालाई मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा रौतहटको गुजरा नगरपालिका–७ निवासी अन्दाजी २५ वर्षीय सुनिल हजरा (दुसाध) र भारतको सितामढी जिल्ला, जमुआ टोल निवासी अन्दाजी १८ वर्षीय अनिकेत पसवान रहेका छन्।
त्यस्तै, दुर्घटनामा रौतहटको यमुनामाई नगरपालिका–५ झुनखुनवा टोल निवासी अन्दाजी १५ वर्षीय अकाश पसवान घाइते भएका छन्। उनको दुवै हात तथा बायाँ खुट्टामा चोट लागेको छ। मध्यम अवस्था रहेका उनको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ।
यसैगरी, भारतको सितामढी जिल्ला, ग्राम भकुरहर निवासी अन्दाजी १६ वर्षीय प्रिन्स पसवान पनि दुर्घटनामा घाइते भएका छन्। मध्यम अवस्था रहेका उनको वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
एउटै स्कुटरमा चार जना सवार रहेको अवस्थामा भएको यस दुर्घटनाले सडक सुरक्षाप्रति पुनः गम्भीर प्रश्न खडा गरेको छ। विशेषगरी भित्री सडकखण्डमा सवारी साधन चलाउँदा गति नियन्त्रण, सावधानी र सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने आवश्यकता यस घटनाले देखाएको छ।
दुर्घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
