(एसपी सिताराम रिजालको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय रौतहटको उत्कृष्ट प्रदर्शन, कात्तिक महिनाको मूल्याङ्कनमा देशकै अब्बल)
रौतहट, ५ मंसिर। जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाल प्रहरीको मासिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका प्रहरी कार्यालयलाई पछि पार्दै पहिलो स्थान हासिल गरेको छ।
प्रहरी संगठनभित्र कार्यदक्षता, अनुशासन र जिम्मेवारी निर्वाहको प्रतिस्पर्धामा रौतहट प्रहरीले उत्कृष्ट नतिजा निकाल्दै आफ्नो क्षमता प्रमाणित गरेको हो।
नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले २०८३ कात्तिक महिनाका लागि तयार पारेको मासिक कार्यसम्पादन मूल्याङ्कन अर्थात् ‘मन्थली रिपोर्ट कार्ड’मा रौतहट प्रहरी देशभर पहिलो बनेको छ।
प्रहरीका विभिन्न इकाईबाट दैनिक रूपमा सम्पादन हुने कामको केन्द्रीय अभिलेख प्रणालीमार्फत समीक्षा गर्दै तयार गरिएको मूल्याङ्कनमा रौतहट प्रहरीले उत्कृष्ट प्रदर्शन गरेको हो।
कार्यसम्पादनका विभिन्न सूचक, अभिलेख व्यवस्थापन तथा तालुक कार्यालयबाट प्राप्त मूल्याङ्कनलाई आधार बनाएर प्रहरी कार्यालयहरूको कामको समीक्षा गरिएको थियो।
मूल्याङ्कनमा प्रहरी कार्यालयहरूको कार्यसम्पादनलाई ‘क’ श्रेणीमा उत्कृष्ट, ‘ख’ श्रेणीमा सन्तोषजनक र ‘ग’ श्रेणीमा सुधार गर्नुपर्ने गरी वर्गीकरण गरिएको थियो। यही मूल्याङ्कन प्रक्रियामा जिल्ला प्रहरी कार्यालय रौतहटले सबैभन्दा उत्कृष्ट स्थान प्राप्त गर्न सफल भएको हो।
जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालको नेतृत्वमा रौतहट प्रहरीले हासिल गरेको यो उपलब्धिलाई संगठनात्मक कार्यकुशलता, व्यावसायिक दक्षता, अनुशासन र नागरिक सेवाप्रतिको प्रतिबद्धताको परिणामका रूपमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जारी गरेको विज्ञप्तिमा यस सफलताका लागि योगदान पुर्याउने सम्पूर्ण प्रहरी कर्मचारी, मातहतका प्रहरी इकाई तथा समन्वय र सहयोग गर्ने सरोकारवाला निकायप्रति धन्यवाद व्यक्त गरिएको छ।
कार्यालयले प्राप्त उपलब्धिलाई आगामी दिनमा अझ प्रभावकारी प्रहरी सेवा प्रवाह गर्ने प्रेरणाका रूपमा लिएको जनाएको छ। शान्ति सुरक्षा कायम राख्दै सेवा प्रवाहलाई पारदर्शी, जवाफदेही र नागरिकमैत्री बनाउने प्रतिबद्धता पनि कार्यालयले दोहोर्याएको छ।
कार्यसम्पादन मूल्याङ्कनमा देशभर पहिलो स्थान प्राप्त गर्नु रौतहट प्रहरीका लागि गौरवको उपलब्धि बनेको छ। यस सफलताले जिल्लामा प्रहरी सेवाको प्रभावकारिता थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।
