कलैया,८ मंसिर । बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा विद्युत् तार सर्ट भई भएको आगलागीबाट तीनवटा घरमा क्षति पुगेको छ। आगलागीमा एक घर पूर्ण रूपमा जलेर नष्ट हुँदा दुई घरमा आंशिक क्षति पुगेको छ। आगलागीबाट करिब १० लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार २०८३ मंसिर ८ गते बिहान करिब ३:३० बजे मटिअर्वा निवासी स्थानीय बासिन्दाहरूको घरमा विद्युत्को तार सर्ट भई अचानक आगलागी भएको थियो। आगलागीको खबर बिहान ३:४० बजे प्रहरी चौकी मटिअर्वामा प्राप्त हुनासाथ प्रहरी तत्काल घटनास्थलमा परिचालित भएको थियो।
आगलागी नियन्त्रणका लागि प्रहरी चौकी मटिअर्वाबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) राकेश कुमार साहको कमाण्डमा चार जना प्रहरीको टोली तथा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) मिनबहादुर घलेको कमाण्डमा २५ जना प्रहरीको टोली गरी जम्मा २९ जना प्रहरी परिचालन गरिएको थियो।
प्रहरी, दमकल तथा स्थानीय बासिन्दाहरूको संयुक्त प्रयासमा बिहान करिब ४:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो। समयमै प्रहरी र दमकल परिचालन हुनुका साथै स्थानीयवासीको सक्रिय सहयोगले आगलागी थप फैलिनबाट रोकिएको थियो।
आगलागीबाट स्थानीय ६५ वर्षीय रतन महरा चमारको काठ र माटोबाट निर्मित खरको छाना भएको एकतले घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरमा रहेका अन्नपात, लत्ताकपडा, साइकल, फर्निचरका सामान, गरगहना तथा तीनवटा बाख्रासमेत जलेर नष्ट हुँदा करिब १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
त्यसैगरी, सोही स्थानका ७० वर्षीय धुरेन्द्र महराको काठ र माटोबाट बनेको खरको छाना भएको एकतले घरको छाना आंशिक रूपमा जल्दा करिब ४० हजार रुपैयाँ बराबरको क्षति भएको छ। अर्का ६० वर्षीय हरिन्द्र रामको घरको छाना पनि आंशिक रूपमा जल्दा करिब १५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
उक्त आगलागीमा मानवीय क्षति भने नभएको प्रहरीले स्पष्ट पारेको छ। यद्यपि घर तथा घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, गरगहना, फर्निचर र चौपायासमेत गुमाउँदा प्रभावित परिवारलाई ठूलो आर्थिक क्षति पुगेको छ।
प्रहरीको तत्काल परिचालन, दमकलको सहयोग तथा स्थानीयवासीको सामूहिक प्रयासबाट आगलागी नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
विद्युत् सर्टका कारण हुने यस्ता आगलागीबाट ठूलो जनधनको क्षति हुन सक्ने भएकाले विद्युत् तार तथा उपकरणको नियमित जाँच, सुरक्षित वायरिङ र आवश्यक सावधानी अपनाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।
