पर्सा प्रहरीको भन्सार छलीविरुद्धको अभियान तीव्र, २२ लाखभन्दा बढीका अवैध सामानसहित तीनवटा गाडी नियन्त्रणमा

समाचार

वीरगञ्ज ,८ मंसिर । पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका सामान ओसारपसारमा प्रयोग गरिएका तीनवटा सवारीसाधनसहित रु. २२ लाख २ हजार ७ सय बराबरका विभिन्न मालवस्तु नियन्त्रणमा लिएको छ।

पर्सा प्रहरीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको निगरानी तथा चेकजाँच अभियानका क्रममा भन्सार छली गरी चोरी पैठारीमार्फत भित्र्याइएका ईभी अटो, खाद्यान्न, कपडा लगायतका सामान बरामद गरेको हो।

प्रहरीका अनुसार मिति २०८३ मंसिर ६ गते दिउँसो करिब १२:४० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १० रानिघाटस्थित क्षेत्रबाट भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको रु. ४ लाख २३ हजार ५ सय बराबरको ईभी अटो तथा खाद्यान्न सामग्री नियन्त्रणमा लिइएको थियो।

त्यसैगरी, मंसिर ७ गते साँझ करिब ७:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १७ रामगढवा क्षेत्रबाट भन्सार छली गरी ल्याउँदै गरिएका कपडा लगायतका सामानसहित दुईवटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको थियो।

प्रहरीले नियन्त्रणमा लिएका BR05GC 5840 र BR31G 9717 नम्बरका पिकअप गाडीमा लोड गरिएका कपडा तथा अन्य सामानको मूल्य रु. १७ लाख ७९ हजार २ सय रहेको जनाइएको छ।

दुवै घटनामा गरी प्रहरीले रु. २२ लाख २ हजार ७ सय बराबरका मालवस्तु तथा तीनवटा सवारीसाधन नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका सम्पूर्ण सामान तथा सवारीसाधन आवश्यक कानुनी कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

पछिल्लो समय पर्सा प्रहरीले सीमावर्ती क्षेत्र तथा वीरगञ्जका विभिन्न नाका र शहरी क्षेत्रमा भन्सार छली, चोरी पैठारी तथा अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई तीव्रता दिएको छ। प्रहरीको यस सक्रियताले अवैध व्यापार तथा राजस्व चुहावट नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भन्सार छलीविरुद्ध निगरानी कडा बनाउँदै पर्सा प्रहरीले अवैध कारोबारमा संलग्न व्यक्ति तथा ओसारपसारमा प्रयोग हुने सवारीसाधनमाथि कारबाही अभियानलाई निरन्तरता दिएको जनाएको छ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *