कार्तिक ९ बुधबार विभिन्न ठाँउ बाट अवैध लागूऔषध सहित ९ जना ब्यक्तिलाई पक्राउ गरिएको नेपाल प्रहरीले जानकारी गराएको छ । जुम्ला, चन्दननाथ नगरपालिका-७ महतगाउँ भन्ने स्थानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिन पदार्थ ७ ग्राम ९ सय ६५ मिलिग्राम सहित सोही गाउँपालिका-५ बस्ने २५ वर्षीय निराजन श्रेष्ठलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो । झापा, कमल गाउँपालिका-३ केर्खाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १० ग्राम र नगद १६ हजार ८ सय ५५ रुपैयाँ सहित अर्जुनधारा नगरपालिका-९ बस्ने २६ वर्षीय अजय माझी समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरीले मे.५ प ९८१८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलविनायकबाट नियन्त्रित लागूऔषध नुफिन ५ सय ३८ एम्पुल, डाइजेपाम ५ सय ८८ एम्पुल, फेनारगन ६ सय ७० एम्पुल, सिरिन्ज ६ थान र चोरी गरेको मोटरसाइकलको हेल्मेट १० थान सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-१ घर भई भक्तपुर नगरपालिका-१० कमलविनायक बस्ने ३३ वर्षीय रविन तामाङ र ३४ वर्षीया सुस्मिता खड्का रहेका छन् । उक्त स्थानमा लागूऔषध बिक्री तथा ओसार पसार हुने गरेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । कपिलवस्तु, मायादेवी गाउँपलिका-३ बहरवसियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय २० मिलिग्राम सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वाणगंगा नगरपालिका-८ ढोडेकोल बस्ने २७ वर्षीय प्रभु थारु र सोही नगरपालिका-७ मोतिपुर बस्ने २९ वर्षीय अर्जुन थारु रहेका छन् । ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले दोहनीबाट पचेहरातर्फ जाँदै गरेको लु.१७ प.५७२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी मोटरसाइकल चालक अर्जुन र मोटरसाइकलमा सवार प्रभुलाई पक्राउ गरेको हो । मोरङ, जहदा गाउँपालिका-४ तेलिया चोक बस्ने ३८ वर्षीय श्यामलाल मुखियालाई अवैध लागूऔषध गाँजा १ किलो सहित गएराति प्रहरीले पक्राउ गरेको छ । उनको भान्सा कोठामा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ११ किलो ३ सय ९० ग्राम सहित पर्सा वीरगंज महानगरपालिका-२२ बस्ने २२ वर्षीय रोशन भन्ने ओमप्रकाश पटेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले ना.१ ज २६२७ नम्बरको म्याजिकलाई जाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई ल्याएको उक्त गाँजा सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी गराएको छ।