रसीद आलम, बिरगंज , २४ जेठ ।
बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक पक्राउ गरेको प्रहरीले जनाएको छ।
पर्सा प्रहरीका अनुसार बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जेठ २३ गते राती १०:०० बजेको समयमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती स्थित सडकखण्डबाट ना.७ ख ५८५२ नम्बरको मालवाहक ट्रक रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा उक्त ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका ट्रक र सो भित्र लोड रहेको औषधी तथा खुद्रा मालसामानहरूको मुल्य रु. २,५५,३२,७७४।- (दुई करोड पचपन्न लाख बतीस हजार सात सय चौहत्तर ) बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आजै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपक गिरिले जनाएका छन् ।
साथै,आज वीरगञ्ज महानगरको सिमावर्ति क्षेत्रबाट चोरी पैठारीका खाद्यान्न तथा विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरि सोको रु.१,४०,५२५।– ( एक लाख चालीस हजार पाँच सय पचीस ) बराबरको मुल्यांकन गरि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको व्यहोरा समेत पर्सा प्रहरीले जानकारी गराएको छ ।