रसीद आलम,बिरगंज ,१४ कार्तिक ।
बिल बिजक भन्दा बढी मेडिकल सामाग्री तथा खुद्रा सामानहरू लोड रहेको ट्रकलाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कार्तिक १२ गते ११:३० बजे रातीमा बिल विजक भन्दा बढी मेडिकल सामाग्री तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट गौरतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नं.१३ प्रतिमा चोकस्थित सडकखण्डमा ना.७ ख ६८७५ नम्बरको मालवाहक ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा ट्रकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी गराएको छ।
पक्राउ परेका ट्रक भित्र लोड रहेको मेडिकल सामाग्री तथा खुद्रा सामानहरूको रू.३९ लाख ८२ हजार ६ सय ७४ बराबरको मुल्यांकन गरि थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।
त्यस्तै विशेष सूचनाको आधारमा कार्तिक १२गते बेलुका ५ बजेको समयमा वीरगञ्ज म.न.पा.वडा नं.२१ परवानीपुर सडकखण्डमा भारतबाट भन्सार छली चोरी पैठारी गरी वीरगञ्जबाट अन्यत्र स्थानमा लैजाँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चिनी ५० के.जी.दरका १०१ बोरा तथा ३० के.जी.का दरले ३२३ बोरा चामल बरामद गरीएको पर्सा प्रहरीले जनाएको छ।
बरामद चीनी तथा चामलको रू.६ लाख ५८ हजार ३०० बराबरको मुल्यांकन गरी आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको प्रहरी नायब उपरीक्षक थापाले जनाएका छन् ।