रौतहट, १२ फागुन । लामो समय देखि तस्करीको जालो तोड्न रौतहट स्थित प्रहरीले अबैध रुपमा भारतबाट ल्याईएको अढाई क्विन्टल माछा नष्ट गरेको छ।
जिल्लाको पूर्वी भेग गढीमाई नगरपालिका ७ स्थित बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौर र प्रहरी चौकी धर्मपुरको संयुक्त टोलीले उक्त माछा नष्ट गरेको हो।
भारतबाट अबैध रुपमा भित्र्याइएको अढाई क्विन्टल माछा स्थानिय भद्रभलादमी रोहवरमा प्रहरी चौकीको हाताभित्रै खाल्डो खनेर नष्ट गरेको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले बताएका छन।
तस्करहरुले सस्तो मूल्यमा पर्ने भनेर बिभिन्न जातको भारतीय माछा जिल्लामा अबैध रुपमा भित्र्याएर बिक्रि गर्ने गर्दछन्। नेपाली उत्पादनको तुलनामा सस्तो पर्ने भएकाले यहाँका दर्जन बढी तस्कर भारत आंध्र प्रदेशमा उत्पादित बचवा लगायत जातको माछा अबैध रुपमा भित्रयाउने गरेका थिए।
भारतको आन्ध्र प्रदेशबाट नेपालसम्म ल्याउँदा दुई हप्तासम्म समय लाग्ने भएकाले तस्करहरुले उक्त माछा ल्याउन बिभिन्न प्रकारको खतरनाक केमिकलको प्रयोग गर्दछन्।
तस्करहरुले मानव स्वास्थ्यका लागि अतिनै हानिकारक भारतीय माछा रौतहट लगायत मधेश प्रदेशको प्रायः सबै जिल्लाहरुमा अबैध रुपमा ल्याएर बिक्रि गर्दै आएका छन्।
रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठको पहलको स्थानीयले सराहना गरेका छन।