ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने पर्साका तत्कालीन मालपोत अधिकृतसहित चारजना दोषी ठहर

समाचार

बिरगञ्ज, १८ फागुन । मालपोत कार्यालय पर्साका चार जना कर्मचारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

 

गलत लिखत तयार गरी ऐलानी जग्गा व्यक्तिको नाममा पास गर्ने मालपोत कार्यालय, पर्साका तत्कालीन मालपोत अधिकृत पदमप्रसाद अर्याल र नायब सुब्बा लेखनाथ भट्टराईसहित चारजना दोषी ठहर भएका छन्।

 

अर्याल र भट्टराईसँगै वीरगञ्ज महानगरपालिका-२ बस्ने ज्यायुल हक र एसानुल हक राकी पनि दोषी ठहर भएका छन् । कानूनविपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानूनी कार्यमा राष्ट्रसेवकलाई सहयोग गरी आफूहरुले फाइदा लिइ नेपाल सरकारलाई हानी पुर्‍याएको भन्दै ज्यायुल र एसानुल तथा दुवै कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

 

विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीश रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले चारै जनालाई बुधबार दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चारै जनाविरुद्ध गत वैशाख १९ गते विशेषमा मुद्दा दायर गराएको थियो।

 

पर्सा साविक अलौ गाविस वडा नम्बर ५ को कित्ता नम्बर ९२ को ऐलानी/सार्वजनिक जग्गा गलत लिखत तयार गरी गलत राजीनामा लिखत पारित गरिदिएर ऐलानी जग्गा कानुन विपरीत भोगचलन हस्तान्तरण गर्ने गैरकानुनी कार्यबाट सरकारलाई हानी पुर्‍याएको अभियोगमा उनीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *