रसीद आलम,बारा,२४ फागुन ।
नक्कली नोट सहित बाराको महागढीमाई नगरपालिका वडा न.९ कञ्चनपुर बस्ने वर्ष ३५ को राम बिनय सहनीलाई बारा प्रहरीले पक्राउ गरेको छ।
फागुन २२ गते बेलुका ४:३० बजेको समयमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले सिम्रौनगढ नगरपालिका वडा नं.४ हरिहरपुर स्थित चेक जाँच गर्ने क्रममा ८ हजार नेपाली नक्कली नोट सहित सहनीलाई पक्राउ गरेको छ।
हरिहरपुरबाट सिम्रौनगढ तर्फ आउदै गरेको बिआर ०५ जे २१८१ नम्बरको भारतीय मोटरसाइकललाई रोकी चेक जाँच गर्दा सहनीको साथबाट भारतीय रू.५०० सयको सक्कली नोट ३ वटा, भारतीय नोट रू. ५०० सयको साईजमा राखिएको सादा कागज २८६ वटा र नेपाली रू.१ हजारका ८ वटा नक्कली नोटहरु वरामद भएको हुँदा पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी)दधिराम न्यौपाने जनाएका छन् ।
नियन्त्रणमा राखिएको सहनीमाथि खोटा चलन सम्बन्धि कसुर मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको डिएसपी न्यौपानेले बताए।
