रसीद आलम,बिरगंज ,४ बैशाख।
सन्कास्पद विल बिजक रहेको तथा बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको मालवाहक ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
बैशाख २ गते राती १०:१० बजे बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नं.०८ घण्टाघरचोक स्थित सडकखण्डबाट ना.३ ख ५१६५ नम्बरको ट्रकलाई पक्राउ गरेको छ।
चेकजाँच गर्ने क्रममा विल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरु लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा रू.५८ लाख ४६ हजार २ सय ४१ बराबरको औषधी तथा खुद्रा सामानहरु नियन्त्रणमा लिईएको पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी ) कुमार बिक्रम थापाले जानकारी दिए।
थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि ट्रकलाई राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको डिएसपी थापाले बताए ।