रसीद आलम,बिरगंज ,२४ असार।
पर्सा प्रहरीले करिब २ करोड बराबरको हार्डवेयरका समान सहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ।
एक करोड उनान्वे लाख पचास हजार छ सय वाइस बराबरको हार्डवेयर तथा मोटरपार्टसका सामानहरू लगायतका बस्तुहरू लोड रहेको २ वटा ट्रकहरू असार २३ गते बेलुकी ६ बजे आईसिपी गेट अगाडिबाट पक्राउ गरेको पर्सा प्रहरीले जनाएको छ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रू.१ करोड ८९ लाख ५० हजार ६ सय २२ बराबरको हार्डवेयर लगायतका सामानहरू बरामद गरि आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरी प्रमुख एसपी कुमोध ढुंगेलले जनाएका छन् ।
पर्साको बिरगंज -२५ आईसिपी गेट स्थित सडकखण्डमा ना.६ ख ४०५८ र ना.३ ख १८७ नम्बरको ट्रकहरूलाई चेकजाँच गर्ने क्रममा बिलबिजक सन्कास्पद देखिएकाले ट्रकलाई हार्डवेयर तथा मोटरपार्टसका सामानहरू सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए ।
प्रहरी उपरीक्षक कुमोध ढुंगेलको कमान्डमा ४ महिनाको समयावधिमा पर्सा प्रहरीले करिब २० करोड भन्दा बढीका भन्सार छलिका विभिन्न अबैध समानहरु नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।एसपी ढुंगेलले तस्करी नियन्त्रण अभियान नै सन्चालन गरेका छन् ।
पछिल्लो समय पर्सा स्थित प्रहरीको सक्रियताले तस्करहरु निरुत्साहित भएर तुलनात्मक रूपमा तस्करी न्यून भएको जानकारहरुले बताएका छन।
