काठमाडौँ,११ साउन । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको हो ।
मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो । उनको पार्थिव शरीरलाई आज बिहान ११ बजेसम्म नगरपालिकामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कार गरिने भएको छ ।
नकर्मी नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखमा विजयी भएका थिए ।
आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।
गएराती मृत्यु भएका कीर्तिपुर नगरपालिका प्रमुख राजकुमार नकर्मीको शोकमा काठमाडौं उपत्यका मेयर्स फोरमले काठमाडौं, ललितपुर र भक्तपुरका स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
नकर्मी विसं २०२१ असार २० गते जन्मिएका थिए। विकास प्रेमी एवं समाजसेवीका रूपमा परिचित नकर्मी विसं २०७९ को स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।
फोरमका अध्यक्ष चीरबाबु महर्जनद्वारा जारी विज्ञप्तिमा उनको निधनको खबरले काठमाडौं उपत्यका मेयर्स फोरम परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको उल्लेख छ ।
‘उहाँको मृत्युले कीर्तिपुर नगरपालिकालगायत काठमाडौं उपत्यकाको विकासमा अपूरणीय क्षति पुगेको महसुस भएको। उहाँले यस फोरममा रही पुर्याउनुभएको योगदान हाम्रा लागि अविष्मरणीय छन्,’ विज्ञप्तिमा भनिएको छ ।
